प्रचण्डको खुलासा; प्रधानमन्त्री कार्कीको नियुक्ति ओलीकै सिफारिसमा भएको हो

काठमाडौँ असोज २४ । नेकपा माओवादी केन्द्र का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तत्कालीन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित सिफारिसमा भएको स्पष्ट गरेका छन्।

शुक्रबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले भने, “राष्ट्रिय संकटको घडीमा जेनजी आन्दोलनमा उठेका युवाहरूको भावनालाई सम्मान गर्दै कार्कीलाई नियुक्त गरिएको हो। तर संवैधानिक रूपमा हेर्ने हो भने, सिफारिस गर्ने काम केपी ओलीले गर्नुभएको हो।” उनका अनुसार, राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दा ओलीकै औपचारिक सिफारिस आधार बनाइएको थियो। “अहिले यो सरकार हावामा बन्यो भन्ने चर्चा भए पनि सच्चाइ के हो भने, उहाँ ओली नै सिफारिसकर्ता हुनुहुन्थ्यो,” प्रचण्डले स्पष्ट पारे।

प्रचण्डले आफूहरू त्यस प्रक्रियामा ‘साक्षी’ मात्रै रहेको उल्लेख गरे। उनले संवैधानिक प्रावधान र तत्कालीन परिस्थितिको समायोजन स्वरूप कार्कीको नियुक्ति गरिएको जिकिर गरे। त्यस्तै, देश हाल गम्भीर संकट र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको स्वीकार गर्दै, उनले समाधानका लागि सर्वपक्षीय राष्ट्रिय सहमतिको आवश्यकता औंल्याए।
“राष्ट्र संकटमा छ भन्नेमा सबैको सहमति देखिएको छ,” प्रचण्डले भने, “राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीवी सबै मिलेर सहमतिको बाटो खोज्नुपर्छ।”

प्रतिक्रिया
सम्बन्धित खवर