महोत्तरीको नौ पालिकामा बाढीको त्रास, धानबालीमा ठूलो क्षति

महोत्तरी असोज २६ । गत आइतबार र सोमबार रातो नदीको तटबन्ध भत्किएर आएको भीषण बाढीले महोत्तरी जिल्लाको कृषि क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको छ। बाढीका कारण हालसम्म नौ पालिकामा मात्र करिब १,९३९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरूपमा नष्ट भएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादवका अनुसार जिल्लाका १५ पालिकामध्ये अहिलेसम्म नौ पालिकाबाट प्राप्त प्रारम्भिक विवरणअनुसार बाढीबाट सबभन्दा बढी महोत्तरी गाउँपालिकामा ६०० हेक्टर धानबाली नष्ट भएको छ। त्यसपछि बलवा नगरपालिकामा ५०० हेक्टर, मटिहानी र एकडारा नगरपालिकामा समान ३००–३०० हेक्टर, लोहारपट्टीमा १०० हेक्टर, भङ्गाहामा ८६ हेक्टर, औरहीमा २३ हेक्टर, गौशालामा २० हेक्टर र सोनमा गाउँपालिकामा १० हेक्टर धानबालीमा क्षति पुगेको हो।

धानबालीसँगै बाढीले अन्य बालीमा पनि ठूलो असर गरेको छ। प्राप्त विवरणअनुसार १,२९० हेक्टर क्षेत्रफलमा लगाइएको उखुबाली, ६३६ हेक्टरमा लगाइएको तरकारी तथा १५३ हेक्टर क्षेत्रफलको दलहन बाली समेत नष्ट भएको छ। उखुबालीमा सबभन्दा बढी क्षति सोनमा गाउँपालिकामा ८७५ हेक्टरमा र तरकारीमा मटिहानी नगरपालिकामा १०० हेक्टरमा भएको बताइएको छ। रातो नदीको बाँध भत्किएपछि महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकामा व्यापक बाढी फैलिएको थियो। कृषि ज्ञान केन्द्रले बाँकी पालिकाहरूलाई पनि क्षतिको विस्तृत विवरण पठाउन अनुरोध गरिसकेको छ। कृषि विज्ञहरूका अनुसार समयमै राहत तथा पुनःलगानी योजना नबनाएमा बाढीबाट प्रभावित किसानहरू आर्थिक संकटमा पर्न सक्ने खतरा छ।

प्रतिक्रिया
सम्बन्धित खवर