काठमाडौँ असोज २६ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच आज सिंहदरबारमा महत्वपूर्ण भेटवार्ता भएको छ। भेटमा आउँदो राष्ट्रिय सभा निर्वाचन, सभाको बैठक कहिले र कहाँ गर्ने भन्नेबारे विस्तृत छलफल भएको बताइएको छ।
प्रधानमन्त्री कार्कीले वर्तमान संकटको अवस्थामा सबै राजनीतिक शक्ति मिलेर देशलाई अघि बढाउनु आवश्यक रहेको धारणा राखिन्। “संकटको घडीमा सहमति र एकता अपरिहार्य छ,” प्रधानमन्त्री कार्कीले भनिन्। सभाध्यक्ष दाहालले आउँदो २० फागुनमा एकतिहाइ राष्ट्रिय सभा सदस्यको कार्यकाल समाप्त हुन लागेकोले निर्वाचन प्रक्रिया प्रारम्भ गर्नुपर्ने विषयमा प्रधानमन्त्रीसँग परामर्श गरेका थिए। प्रचलित कानुनअनुसार पदावधि सकिनुभन्दा ३५ दिनअघि निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ।
भेटमा राष्ट्रिय सभामा विचाराधीन विधेयकहरूबारे पनि छलफल भएको सभाध्यक्ष दाहालले जानकारी दिए। यस्तै, संसद्को आगामी बैठकबारे अन्योल कायमै रहेको बताइएको छ, किनभने जेन–जी आन्दोलनको दोस्रो दिन बानेश्वरस्थित संघीय संसद् भवनमा भएको आगजनीले संरचना प्रयोग अयोग्य बनेको छ। बैठक कहाँ बोलाउने भन्ने विषयमा प्रधानमन्त्री र सभाध्यक्षले विकल्पहरूबारे प्रारम्भिक छलफल गरेको स्रोतले जनायो।





