जसपा नेपालले मधेस प्रदेश अधिवेशनका तयारी पूरा गरेको घोषणा

जनकपुरधाम असोज २६ । जनता समाजवादी पार्टी जसपा नेपालको मधेस प्रदेश अधिवेशन असोज २७ र २८ गते जनकपुरधाममा हुने भएको छ। पार्टीले अधिवेशनका सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रदेशभरिबाट प्रतिनिधि छनोटको प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ।

जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष बालकिशोर यादवले अधिवेशनमा ५ सय प्रतिनिधि र १ सय पर्यवेक्षकको सहभागिता रहने जानकारी दिए। अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष उपेन्द्र यादवले असोज २७ गते गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए। अध्यक्ष यादवका अनुसार देश विषम राजनीतिक अवस्थाबाट गुज्रिरहेको बेला हुने यो अधिवेशन पार्टी दृष्टिकोणले महत्वपूर्ण हुनेछ। जसपाले लामो समयदेखि संविधान संशोधन, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, न्याय प्रणालीको पुनर्संरचना, संवैधानिक अदालतको स्थापना, सामाजिक न्याय र सुशासनका एजेन्डाहरू उठाउँदै आएको बताइएको छ।

“यी मुद्दाहरू नयाँ पुस्ता, विशेषतः ‘जेन जेड’ ले समेत जोडतोडका साथ उठाउन थालेका छन्,” अध्यक्ष यादवले भने, “हामीले दशकअघिदेखि अघि सारेका एजेन्डाहरू अहिले जनस्तरमा अझ व्यापक समर्थन पाउन थालेका छन्।” पार्टी स्रोतका अनुसार अधिवेशनबाट मधेस प्रदेशको नयाँ नेतृत्व चयन हुनेछ। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष बालकिशोर यादव र केन्द्रीय सदस्य योगेन्द्र राय यादव आकांक्षी रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर