एजेन्सी असोज २६ । अफगानिस्तानले शनिबार राति सीमाक्षेत्रमा सञ्चालन गरेको कारबाहीमा ५८ जना पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ। अफगान अधिकारीहरूले आफ्नो भूमि र हवाई क्षेत्रको बारम्बार उल्लङ्घन भएपछि जवाफी कारबाही गरिएको बताएका छन्।
तालिबान सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान सेनाले पाकिस्तानी सीमा चौकी २५ वटा कब्जा गरेको र करिब ३० जना घाइते भएको जानकारी दिएका छन्। उनले भने, “हाम्रो क्षेत्रीय अखण्डता र सार्वभौमसत्तामाथि भएको उल्लंघनको कडा जवाफ दिएका छौँ।” यसअघि यसै साता अफगान अधिकारीहरूले पाकिस्तानमाथि राजधानी काबुल र पूर्वी बजारहरूमा बम प्रहार गरेको आरोप लगाएका थिए, जुन पाकिस्तानले अस्वीकार गरेको छ। अफगानिस्तानका राज्य सञ्चालित मिडियाले पनि ठूलो सङ्घर्ष भएको र दर्जनौँ पाकिस्तानी सैनिक मारिएको जनाएको छ। तर पाकिस्तानले भने यस घटनामा आफ्नो संलग्नता नकार्दै छ। तालिबान सरकारको रक्षा मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो सैनिकहरूले सफल जवाफी अपरेसन सञ्चालन गरेको पुष्टि गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यदि विपक्षी पक्षले पुनः सीमा उल्लंघन गरे हामी कडा जवाफ दिन पूर्ण रूपमा तयार छौँ।”
यस झडपपछि दुई देशबीचको प्रमुख व्यापारिक नाका तोरखाम बन्द रहेको छ। पाकिस्तानले अफगानिस्तानलाई प्रतिबन्धित समूह तहरीक–ए–तालिबान पाकिस्तान टीटीपी का आतंकवादीहरूलाई शरण दिएको आरोप लगाउँदै आएको छ। काबुलले भने आफ्नो भूमिलाई आतंकवादी समूहको लागि प्रयोग हुन नदिने अडान लिएको छ। पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले घटनाको कडा निन्दा गर्दै आफ्नो सेनाले पर्याप्त जवाफ दिएको दाबी गरेका छन् भने गृहमन्त्री मोहसिन नकवीले पनि कडा प्रतिक्रिया जनाएका छन्। उनीहरूले भारतजस्तो कडा जवाफ दिन सक्ने संकेत गरेका छन्।
कतारको विदेश मन्त्रालयले सीमा तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दुवै पक्षलाई संवाद र कूटनीतिक समाधान अपनाउन आग्रह गरेको छ। एक वरिष्ठ पाकिस्तानी सुरक्षा अधिकारीका अनुसार अफगान सेनाले खैबर पख्तुनख्वा प्रान्तका विभिन्न सीमाक्षेत्रहरूमा गोली प्रहार गरेको छ भने पाकिस्तानले पनि प्रत्युत्तर दिएको छ। कुर्रम जिल्लामा अफगान मोर्टार आक्रमणमा एक व्यक्ति मरेको छ। अफगानिस्तान–पाकिस्तान सीमाको विवादित डुरान्ड रेखा दुई देशबीच विवादित क्षेत्र हो, जसलाई अफगानिस्तानले औपचारिक मान्यता दिएको छैन।





