हैजा संक्रमण रोक्न पर्सामा खोप अभियान चल्दै

पर्सा असोज २६ । हैजाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सा जिल्लामा आइतबारदेखि खोप अभियान सुरु गरिएको छ। वीरगञ्ज महानगरसहित पर्साका सबै १४ पालिका र बाराका ६ पालिकामा चरणबद्ध रूपमा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

बारामा भने खोप अभियान असोज २८ गतेदेखि सुरु हुने जनाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई पहिलो खोप खुवाएर अभियानको औपचारिक सुरुवात गरिएको हो।

६ लाखभन्दा बढी लक्षित जनसंख्या

पर्सामा १ लाख १६ हजार घरधुरीका ६ लाख ५२ हजारभन्दा बढी नागरिकलाई खोप दिने लक्ष्य लिइएको छ। त्यसका लागि ११७ स्वास्थ्य संस्था र १ हजार ९५१ खोप केन्द्र स्थापना गरिएको छ। हरेक घरमा स्वयंसेवकहरू खोप लिएर जाने व्यवस्था मिलाइएको छ। बाराको जितपुरसिमरा र कलैया उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकामा समेत खोप अभियान सञ्चालन गरिनेछ। बारा–पर्साका लागि कुल १० लाख १८ हजार १ सय डोज ‘इयूभिकोल–एस’ नामक ओरल कोलेरा खोप ओसीभी ल्याइएको छ।

पानीमा इ।कोली जीवाणु भेटिएपछि जोखिम बढ्यो

वीरगञ्जका बाढी प्रभावित क्षेत्रमा गरिएको पानी परीक्षणमा झाडापखाला गराउने ई.कोली जीवाणु भेटिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। ‘पानीको स्रोतमा नभई घरसम्म पुग्दासम्म प्रदूषण भएको पाइएको छ,’ खोप फोकल पर्सन जयमोद ठाकुरले जानकारी दिए। स्वास्थ्य कार्यालय पर्साका अनुसार हालसम्म १ हजार ६८० जना हैजा तथा झाडापखालाका बिरामी भेटिएका छन्। आरडिटी परीक्षणबाट पुष्टि भएका ३ जनामा गम्भीर संक्रमण देखिएको छ, जसमा किड्नी डायलाइसिस गर्नुपर्ने अवस्था आएको छ।

डब्लुएचओ र युनिसेफको सहयोगमा अभियान

खोप अभियानमा विश्व स्वास्थ्य संगठन WHO, युनिसेफ, रेडक्रस लगायतका संस्थाहरूको सहयोग रहेको छ। मुखबाट लिने यो खोप प्लास्टिकको ट्यूबमा झोलको रूपमा दिइनेछ। १ वर्षमाथिका सबैलाई एक डोज खोप खुवाइनेछ। अभियान कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ।

‘खोप अन्तिम उपाय हो’, सरसफाइमा जोड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी डा. अभियान गौतमले हैजा विरुद्धको खोप पाउनु अवसर भएको भन्दै सबैलाई खोप लिन आग्रह गरे। तर उनले सरसफाइको व्यवहार परिवर्तनलाई दीर्घकालीन समाधानको बाटो भनेका छन्। ‘खोप अन्तिम विकल्प हो,’ उनले भने, ‘साफ पानी पिउनु, फोहोर खाना नखानु, तरकारी राम्रोसँग पकाएर खानुजस्ता अभ्यास नै हैजा रोक्ने दिगो उपाय हुन्।’ खोप उच्च ज्वरो भएका, हाल हैजाको उपचार गराइरहेका बिरामी बाहेक सबैलाई लगाउन सकिने जनाइएको छ। मधुमेह, उच्च रक्तचाप, गर्भवती, सुत्केरी लगायतले पनि यो खोप लिन सक्नेछन्।

प्रतिक्रिया
सम्बन्धित खवर