Blog

  • सडक दुर्घटनाले पाल्पामा तीन जनाको ज्यान लियो

    सडक दुर्घटनाले पाल्पामा तीन जनाको ज्यान लियो

    पाल्पा कार्तिक १३ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङमा आज दिउँसो भएको विद्युतीय गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

    अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको गाडी सडकबाट खस्दा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मृत्यु हुनेमा चालक ३४ वर्षीय कमल रायमाझी छहरा अमलावास, ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी रैनादेवी छहरा–१ सिद्धेश्वर र ४१ वर्षीय रामबहादुर गाहा छहरा–४ मेहलढाप रहेका छन्।

    प्रहरीका सूचना अधिकारी कमल प्रधानका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका ती तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल पाल्पा पुर्‍याइएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनाग्रस्त गाडी सडकबाट गहिरो खोल्सामा खसेको बताइएको छ। प्रहरीले दुर्घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

  • जेनजी आन्दोलनमा तोडफोड र लुटपाट : देशभर २५१ जना पक्राउ

    जेनजी आन्दोलनमा तोडफोड र लुटपाट : देशभर २५१ जना पक्राउ

    काठमाडौँ कार्तिक १३ । जेनजी आन्दोलनका क्रममा देशभर तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा २५१ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार, ११ कात्तिकसम्मको विवरणअनुसार विभिन्न जिल्लाबाट २५१ जना नियन्त्रणमा लिइएका हुन्। तीमध्ये काठमाडौंबाट ९९ जना, ललितपुरबाट २६ जना र भक्तपुरबाट २१ जना पक्राउ परेका छन्। बाँकी पक्राउ अन्य जिल्लाबाट गरिएको प्रहरीले जनाएको छ।

    प्रवक्ता घिमिरेका अनुसार, पक्राउ परेकामाथि कर्तव्य ज्यान, आपराधिक उपद्रव, हातहतियार खरखजना, चोरी र अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको छ। उनले भने, “तोडफोड, आगजनी र लुटपाटमा संलग्न सबैलाई प्रमाणसहित कानुनी दायरामा ल्याइनेछ।”

    प्रहरीका अनुसार, जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडका दृश्य देखिने करिब ३६ हजार भिडियो र तस्वीर प्रहरी मेलमा आएका छन्। ती सामग्रीको विश्लेषण गरी व्यक्ति पहिचान गरी थप कारबाही अघि बढाइने जनाएको छ। गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो। त्यस क्रममा सिंहदरबारलगायतका महत्वपूर्ण सरकारी संरचनामा आगजनी गरिएको थियो।

  • जनकपुर बोल्ट्सको बल मजबुत : दक्षिण अफ्रिकाका वायन पार्नेल टोलीमा

    जनकपुर बोल्ट्सको बल मजबुत : दक्षिण अफ्रिकाका वायन पार्नेल टोलीमा

    जनकपुरधाम कार्ति १३ । दक्षिण अफ्रिकाका अनुभवी पेस बलिङ अलराउन्डर वायन पार्नेल आगामी दोस्रो सिजनको नेपाल प्रिमियर लिग एनपीएल मा साविक विजेता जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्। जनकपुरले बुधबार सामाजिक सञ्जालमार्फत पार्नेललाई टिममा भित्र्याएको घोषणा गरेको हो।

    ३६ वर्षीय पार्नेलले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट ३६ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्, जसमा उनले ५९ विकेट लिएका छन् र ३७४ रन पनि जोडेका छन्। समग्र टी–२० करियरमा पार्नेलले ३०० खेलमा ३१७ विकेट र २२०० रन बनाइसकेका छन्। उनले आईपीएल, बीपीएल, एसएटी–२० र द हन्ड्रेड जस्ता विश्वका प्रमुख फ्रेन्चाइज लिगहरूमा समेत अनुभव जुटाइसकेका छन्।

    पार्नेलले एनपीएलमा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै भनेका छन्,

    “म एनपीएलमा खेल्न पाउँदा निकै उत्साहित छु। मैले नेपाली क्रिकेटप्रति रहेको जोश र समर्थन देखेको छु। जनकपुर बोल्ट्सको उपाधि रक्षा अभियानमा योगदान दिन पाउनु मेरो लागि गर्वको कुरा हो।”

    जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरोज खतिवडाका अनुसार पार्नेलको अनुभवले टोलीलाई अझ सुदृढ बनाउनेछ। उनले भने,

    “पार्नेलले यू–१९ बाट सुरु गरेको यात्रा हुँदै विश्व क्रिकेटमा आफ्नो पहिचान स्थापित गरेका छन्। उनको आगमनले हाम्रो उपाधि रक्षा अभियानलाई बलियो बनाउनेछ र नेपाली क्रिकेटप्रेमीलाई विश्वस्तरीय प्रदर्शन हेर्ने मौका दिलाउनेछ।”

    यसअघि जनकपुरले लाहिरु मिलान्थालाई पुनः अनुबन्ध गरेको थियो भने वेस्ट इन्डिजका महान् ब्याट्सम्यान शिवनराइन चन्द्रपललाई प्रशिक्षकका रूपमा ल्याइसकेको छ। नेपाल प्रिमियर लिग एनपीएल आगामी मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने कार्यक्रम रहेको छ।

  • बागमती, मधेस र कोशी प्रदेशमा बिहीबारदेखि मोन्था चक्रवातको असर

    बागमती, मधेस र कोशी प्रदेशमा बिहीबारदेखि मोन्था चक्रवातको असर

    काठमाडौँ कार्तिक १३ । केन्द्रीय मौसम पूर्वानुमान महाशाखाले मोन्था चक्रवातको प्रभाव बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म नेपालमा रहने जनाएको छ। उक्त चक्रवातको कारण बागमती, मधेस र कोशी प्रदेशको मौसममा उल्लेख्य परिवर्तन देखिने महाशाखाले बताएको हो।

    पूर्वानुमान अनुसार, मधेस र कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा हुन सक्नेछ। मधेस र कोशीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। चक्रवातको प्रभावले कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम हिमपात र केही ठाउँमा भारी हिमपात समेत हुन सक्ने चेतावनी दिइएको छ।

    महाशाखाले हालको विश्लेषणका आधारमा भनेको छ— बागमती, कमला, कोशी र कन्काई नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र सतर्कता तहसम्म पुग्न सक्ने सम्भावना छ। कोशी, बागमती र मधेस प्रदेशका महाभारत र चुरे क्षेत्र हुँदै बग्ने स–साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने चेतावनी दिइएको छ। विशेषगरी काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली, बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरीका स–साना नदीमा आकस्मिक बहावको जोखिम उच्च रहेको महाशाखाले जनाएको छ।

    महाशाखाले सबै निकाय र सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गर्दै भनेको छ,

    “चक्रवातको सम्भावित प्रभावका कारण वर्षा, हिमपात र पहिरोको जोखिम बढ्न सक्छ। यसले दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि र पर्यटन क्षेत्रमा समेत असर पुर्‍याउन सक्छ, त्यसैले विभागले जारी गर्ने अद्यावधिक सूचना निरन्तर प्राप्त गरी आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दछ।”

  • केन्याको आन्तरिक उडान दुर्घटना, १२ यात्रुको मृत्यु

    केन्याको आन्तरिक उडान दुर्घटना, १२ यात्रुको मृत्यु

    एजेन्सी कार्तिक १३ । केन्याको तटीय काउन्टी क्वालेमा मंगलबार भएको विमान दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। केन्या नागरिक उड्डयन प्राधिकरण का अनुसार, दुर्घटनाग्रस्त विमान ५–वाई–सीसीए दियानीबाट मासाई मारा नेसनल रिजर्भको किचवा टेम्बोतर्फ उडान भरिरहेको थियो।

    केसीएएका प्रवक्ताले विज्ञप्ति जारी गर्दै विमानमा रहेका सबै १२ जना यात्रु र चालकदलको मृत्यु भएको पुष्टि गरेका छन्। दुर्घटनाको कारण अझै स्पष्ट नभए पनि अनुसन्धान टोली घटनास्थलमा पुगेको र प्रारम्भिक अध्ययन सुरु भइसकेको बताइएको छ। स्थानीय अधिकारीहरूले विमानमा सवार अधिकांश पर्यटक यात्रुहरू रहेको जनाएका छन्। उक्त विमान मोम्बासा र अन्य लोकप्रिय पर्यटकीय गन्तव्यहरू बीच सेवा सञ्चालन गर्ने निजी एयरलाइन्सको भएको पुष्टि गरिएको छ।

  • ओलीको आरोप: आन्दोलनको आवरणमा राष्ट्रविरोधी षड्यन्त्र रचियो

    ओलीको आरोप: आन्दोलनको आवरणमा राष्ट्रविरोधी षड्यन्त्र रचियो

    काठमाडौँ कार्तिक ५ । नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनको आवरणमा राष्ट्रविरोधी भयानक षड्यन्त्र भइरहेको गम्भीर आरोप लगाएका छन्।

    बुधबार जेनजी आन्दोलनका क्रममा आगजनी भएको बालकोटस्थित आफ्नो निवासको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आन्दोलनको नाममा सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गरिएको भन्दै त्यस्ता कार्य आपराधिक समूहले नियोजित ढंगले गराएको दाबी गरे। यो आन्दोलन होइन, यो राष्ट्रविरोधी गतिविधि हो,ू उनले भने। ओलीका अनुसार घटनाको क्रममा उनको घरमाथि तोडफोड र आगजनी हुनुका साथै महत्त्वपूर्ण सामान लुटिएको छ, तर सरकार यस्तो आपराधिक घटनाप्रति उदासीन देखिएको भन्दै उनले गम्भीर आपत्ति जनाए।

    व्यक्तिगत दुस्मनी र योजनाबद्ध आक्रमणको आशंका

    पूर्वप्रधानमन्त्री ओलीले गृहमन्त्रीले आफूविरुद्ध व्यक्तिगत दुस्मनी राखेको आरोप पनि लगाएका छन्। सरकारले मविरुद्ध थप योजना बनाइरहेको स्पष्ट देखिन्छ, ओलीको दाबी थियो। उनले हालै गृहमन्त्रीले दिएको एक अन्तर्वार्तालाई उद्धृत गर्दै सरकारको उद्देश्य र कार्यदिशा जनतामाझ स्पष्ट भइसकेको बताए।

    ‘एमाले विचलित हुँदैन’

    ओलीले नेकपा एमाले कुनै षड्यन्त्र वा राजनीतिक तमाशाबाट विचलित नहुने बताउँदै “एमालेले देशमा शान्ति, सुव्यवस्था र भ्रष्टाचार नियन्त्रण गरेरै छाड्छ,” भन्ने दृढता व्यक्त गरे।

  • मिथिला संस्कृतिमा अपमान: जानकी मन्दिरमा पटका पड्काएर विवाद

    मिथिला संस्कृतिमा अपमान: जानकी मन्दिरमा पटका पड्काएर विवाद

    जनकपुरधाम कार्तिक ५ । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले दीपावलीको रात मन्दिर परिसरमा निरन्तर पटाका पड्काएर धार्मिक शान्ति भङ्ग गरिएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन्। उनले यस्तो व्यवहारले मन्दिरको पवित्रता र मिथिलाको सांस्कृतिक छविमा गम्भीर असर पुगेको बताए।

    पत्रकार सम्मेलनमा महन्त दासले भने, “जानकी मन्दिर केवल इँटा र ढुङ्गाको संरचना मात्र होइन, यो जनकपुरवासीको आत्मा हो। यहाँ भक्ति, शान्ति र मर्यादा रहनुपर्छ, पटाका र बारुदको आवाजले होइन। यस्तो कार्य अत्यन्त निन्दनीय र दुःखदायी छ।” उनका अनुसार पछिल्लो समय दीपावलीका रातमा युवाहरू मन्दिर परिसरभित्र पटाका पड्काउने, नाचगान गर्ने र फोटो सेसन गर्ने प्रवृत्ति बढ्दै गएको छ। उनले बारम्बार मन्दिरभित्र यस्तो गतिविधि नगर्न आग्रह गरे पनि केहीले बेवास्ता गरिरहेको बताए। “यो हाम्रो धर्म, संस्कार र परम्पराविपरीत कार्य हो। यसले सम्पूर्ण मिथिलाको सांस्कृतिक छविमाथि दाग लागेको छ,” महन्त दासले भने।

    उनले मन्दिरको मर्यादा जोगाउन सबै श्रद्धालु, स्थानीय युवाहरू र जनसमुदायलाई जिम्मेवारीपूर्वक आचरण गर्न आग्रह गरे। “जानकी मन्दिर मिथिलाको हृदय हो जहाँ भजन, आरती र शान्तिको स्वर गुन्जिनुपर्छ, पटाका र हल्लाको आवाजले होइन। मन्दिरको पवित्रता संरक्षण गर्नु सबैको कर्तव्य हो।” स्थानीय साधुसन्तहरू पनि मन्दिर परिसरमा बढ्दो आतिशबाजी र ठूला आवाजबाट त्रसित बनेका छन्। सामाजिक सञ्जालमा पनि यसप्रति आलोचना र चिन्ता व्यापक रूपमा देखिएको छ। धार्मिक स्थलमा यस्ता गतिविधिले जनकपुरधामको धार्मिक छवि र सांस्कृतिक मर्यादामा प्रश्न उठाएको भन्दै समुदायले समेत सजग हुन आग्रह गरेको छ।

  • इजरायली राजदूतको भनाइ: विपिन जोशी हत्या गोलीकाण्ड हो

    इजरायली राजदूतको भनाइ: विपिन जोशी हत्या गोलीकाण्ड हो

    काठमाडौँ कार्तिक ५ । गाजामा हमासको नियन्त्रणमा रहेका बेला नेपाली विद्यार्थी विपिन जोशीलाई गोली हानी हत्या गरिएको इजरायली राजदूत स्मूलिक एरी बासले पुष्टि गरेका छन्। जोशीको पार्थिव शरीर इजरायल हुँदै नेपाल ल्याइएपछि मंगलबार कञ्चनपुरमा उनको दाहसंस्कार गरिएको थियो।

    बीबीसीसँगको कुराकानीमा राजदूत बासले फोरेन्सिक परीक्षणबाट जोशीको टाउकोमा गोली लागेको प्रमाणित भएको जानकारी दिएका छन्। उनको मृत्यु हमासको नियन्त्रणमा हुँदा भएको र यो हत्या युद्धको आक्रमणको हिस्सा नभई हमासले गोली हानी हत्या गरेको दाबी गरिएको छ। राजदूत बासले परिवारसँग भेटेर विपिनको साहसलाई सम्मान गरेका छन् र उनले विपिनको घटना इजरायल–नेपाल सम्बन्धको प्रतीकका रूपमा रहने बताए। हमासले विपिन जोशीको नाम बन्धकहरूको कुनै पनि सूचीमा समावेश नगरेको उल्लेख छ। विभिन्न युद्धविरामका समयमा पनि उनको रिहाई नभएको र नाम सार्वजनिक नभएको कारण उनको अवस्था लामो समयसम्म अज्ञात रहेको थियो।

    असोज २२ गते सार्वजनिक भएको दुई वर्ष पुरानो भिडियोले नेपालीहरूमा आशा जगाएको थियो कि विपिन जीवित छन्, तर २४ गते सार्वजनिक नामावलीमा उनको नाम नरहेकोले शंका बढेको थियो। अन्ततः २७ गते इजरायली सेनाले भिडियो कन्फरेन्समार्फत जोशी जीवित नरहेको जानकारी परिवार र सम्बन्धित पक्षहरूलाई दिइएको थियो।

    हालसम्म हमासले यो घटनामा कुनै प्रतिक्रिया जनाएको छैन।

  • भारतबाट नेपाली स्कुलहरूलाई फेरि सहयोग, ८१ नयाँ बस हस्तान्तरण

    भारतबाट नेपाली स्कुलहरूलाई फेरि सहयोग, ८१ नयाँ बस हस्तान्तरण

    काठमाडौँ कार्तिक ५ । नेपाल–भारत विकास साझेदारीलाई अझ सुदृढ बनाउने उद्देश्यले भारत सरकारले नेपालका विभिन्न जिल्लाका विद्यालयहरूलाई ८१ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ।

    भारतीय राजदूतावासका अनुसार यो सहयोग कोशी प्रदेशका बाढी प्रभावित क्षेत्रहरू तथा सातै प्रदेशका दुर्गम जिल्लाहरूलाई लक्षित गरेर गरिएको हो। स्कुल बसहरू खासगरी शैक्षिक पहुँच अभाव रहेका इलाम, झापा, उदयपुर, हुम्ला, मुस्ताङ, संखुवासभा, दार्चुला, बैतडी, अछाम लगायतका जिल्लामा उपलब्ध गराइएका छन्। नेपाल र भारतबीचको मित्रता र विकास साझेदारीको निरन्तरताू भन्दै राजदूतावासले शैक्षिक क्षेत्रमा सहयोगलाई प्राथमिकता दिइएको जनाएको छ। यो सहयोगले ग्रामीण भेगका बालबालिकालाई विद्यालयसम्मको यात्रा सुरक्षित र सहज बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    भारतले विगत तीन दशकयता नेपालभरिका विभिन्न संस्थाहरूलाई जम्मा ३८१ वटा स्कुल बस प्रदान गरिसकेको छ, जसले नेपालका हजारौँ विद्यार्थीको शैक्षिक पहुँचमा प्रत्यक्ष प्रभाव पारेको छ।

  • युगान्डामा डरलाग्दो बस दुर्घटना: ६३ को ज्यान गयो, धेरै घाइते

    युगान्डामा डरलाग्दो बस दुर्घटना: ६३ को ज्यान गयो, धेरै घाइते

    एजेन्सी कार्तिक ५ । युगान्डाको उत्तरी राजमार्गमा भएको भीषण सडक दुर्घटनामा ६३ जनाको ज्यान गएको छ भने धेरैजना गम्भीर घाइते भएका छन्। घटना बुधबार बिहान कम्पाला–गुलु मोटरवेमा मध्यरातपछिको समयमा भएको युगान्डा प्रहरीले पुष्टि गरेको छ।

    दुर्घटनामा दुई बस र अन्य चार सवारीसाधन संलग्न भएका थिए। युगान्डा प्रहरीले सामाजिक सञ्जाल एक्स पूर्व ट्विटर मार्फत जारी गरेको विज्ञप्तिमा दुर्घटना ओभरटेक गर्ने प्रयासका क्रममा भएको उल्लेख छ। विज्ञप्ति अनुसार, एक बसका चालकले ठक्करबाट बच्ने प्रयास गर्दा सन्तुलन गुमाएर बस पल्टिएको, जसपछि त्यसै बाटोमा रहेका अन्य सवारीहरू पनि आपसमा ठोक्किँदै ‘चेन रियाक्सन’ शैलीमा दुर्घटनामा फसेका थिए।

    प्रहरीका अनुसार सबै सवारीमा रहेका यात्रुहरू दुर्घटनामा परेका थिए, र घटनास्थलमै धेरैको मृत्यु भएको हो। गम्भीर घाइतेहरूलाई किर्याण्डोङ्गो अस्पताल तथा वरपरका स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ। यद्यपि, घाइतेहरूको सटीक संख्या हालसम्म सार्वजनिक गरिएको छैन। युगान्डामा पछिल्ला वर्षहरूमा ओभरटेककै कारण भएका सवारी दुर्घटनाहरू बढ्दो क्रममा छन्। प्रहरी प्रवक्ताले यातायातका चालक र यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गर्दै अनियन्त्रित ड्राइभिङको जोखिमबारे चेतावनी दिएका छन्।

    युगान्डामा सडक सुरक्षासम्बन्धी चुनौती झन् जटिल बन्दै गएको सन्दर्भमा यस घटनाले सार्वजनिक यातायातको जोखिमप्रति पुनः ध्यानाकर्षण गराएको छ।

  • छठ पर्वको स्वागतमा जनकपुरधाम तयार हुँदै

    छठ पर्वको स्वागतमा जनकपुरधाम तयार हुँदै

    जनकपुरधााम कार्ति ५ । दिपावली सकिएसँगै जनकपुरधाममा अर्को ठूलो धार्मिक पर्व छठको रौनक सुरु भएको छ। मिथिलाञ्चलको सांस्कृतिक र धार्मिक पहिचान बोकेको यो पर्वलाई भव्यता प्रदान गर्न शहरका प्रमुख पोखरी, तलाउ र नदी किनारहरूलाई सरसफाइ गरी आकर्षक रूपमा सजाउने कार्य तीव्र गतिमा भइरहेको छ।

    स्थानीय सहयोगमा सरसफाइ
    गङ्गासागर, धनुषसागर, अरगजा, रत्नसागर, दशरथ तलाउ लगायतका ऐतिहासिक पोखरी र घाटहरूमा जनसहभागिता सहित सफाइ तथा श्रृङ्गारको काम भइरहेको छ। नीति आयोग, मधेस प्रदेशका पूर्व उपाध्यक्ष डा. भोगेन्द्र झाले पर्वको सामाजिक र सांस्कृतिक महत्त्व झल्किने गरी तयारी गरिएको जानकारी दिएका छन्।

    बजारमा किनमेलको चटारो
    छठ पर्व नजिकिँदै जाँदा बजारमा आवश्यक सामग्री—जस्तै ठकुवा, भुसवा, केरा, फलफूल, माटाका भाँडा, बाँसका टोकरी, दियो, अदुवा, घैटो आदि—किन्ने उपभोक्ताको भीड बढेको छ। स्थानीय व्यापारी रुक्मिनी साहका अनुसार यो वर्ष सामानको मूल्य विगतको तुलनामा केही बढेको छ।

    चार दिनसम्म मनाइने पर्व
    छठ पर्व कात्तिक १० गते सोमबारबाट विधिपूर्वक सुरु हुँदैछ। पण्डित कुशेश्वर उपाध्यायका अनुसार छठ पर्वको आरम्भ नहाय खायु विधिबाट हुन्छ, जसमा व्रतालु शुद्ध भोजन गरेर व्रत सुरु गर्छन्। त्यसपछि खरनाु, साँझको सूर्यलाई अर्घ्य, र अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन हुन्छ।

    धार्मिक र वैज्ञानिक पक्ष
    पण्डित अमरकान्त झाका अनुसार सूर्यको आराधनाबाट सन्तान प्राप्ति, समृद्धि, चर्मरोग निवारण हुने जनविश्वास रहेको छ। ज्योतिषीय दृष्टिले सूर्य दक्षिणायणमा रहँदा यसको किरण मानव स्वास्थ्यका लागि लाभदायक हुने मानिन्छ।

    सुरक्षा व्यवस्था कडा
    धनुषा जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम नगर क्षेत्रका छठघाटहरूमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले सुरक्षाकर्मीको संख्या बढाइने र भीड नियन्त्रणका लागि निगरानी कडा बनाइने बताए।

    पौराणिक श्रोत र परम्परा
    जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले सूर्य पुराण अनुसार पहिलो पटक अत्रि ऋषिकी पत्नी अनसुइयाले यो व्रत गरेको उल्लेख गर्दै, त्यसपछि यसको परम्परा चलिआएको बताए।

    शारीरिक र आध्यात्मिक सन्तुलनको प्रतीक
    राजर्षीजनक विश्वविद्यालयका रजिस्ट्रार सत्यनारायण साहले छठ पर्वलाई मानव र प्रकृतिबीचको सन्तुलन झल्काउने पर्वको रूपमा हेर्नुपर्ने बताए। उनका अनुसार सूर्य नै सम्पूर्ण जीवनशक्तिको स्रोत भएकोले यस पर्वमा प्राकृतिक दर्शन समेत समावेश छ।

  • रुपन्देहीमा मूर्ति विसर्जनका क्रममा डुबेर तीन युवाको मृत्यु

    रुपन्देहीमा मूर्ति विसर्जनका क्रममा डुबेर तीन युवाको मृत्यु

    रुपन्देही कार्तिक ५ । दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा रुपन्देहीमा बुधबार एक दर्दनाक घटना घटेको छ। गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुराघाटमा मूर्ति विसर्जन गर्दा तीन जना युवाले ज्यान गुमाएका छन्।

    मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन, र २८ वर्षीय रोहित हरिजनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए। घटनास्थलमा खोजी कार्य सुरु गरेपछि करिब २०० मिटर तल उनीहरूका शव फेला पारिएको प्रहरीले जनाएको छ। तीनै जना बुधबार दिउँसो करिब ३ बजे दानव र कञ्चन नदीको संगमस्थल सन्तेश्वर घाट पुगेका थिए। सोही स्थानमा छठको तयारीसमेत भइरहेको थियो। स्थानीय सन्दीप गुप्ताका अनुसार, एकै परिवारका सदस्यजस्तै तीन युवाको मृत्यु भएपछि सूर्यपुरा र मायादेवी गाउँहरूमा शोकको वातावरण छाएको छ। केही वर्षअघि पनि तिहारको समयमा गाउँकै तीन जना युवाको डुबेर मृत्यु भएको थियो।

    दशैंको उत्सव शोकमा परिणत

    दुर्गा पूजाको विसर्जनसँगै उत्सवको समापन हुँदै गर्दा आएको यो घटनाले स्थानीयहरूलाई स्तब्ध बनाएको छ। जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयबासीले घटनाप्रति दुःख व्यक्त गरेका छन्।