Blog

  • अमेरिकाको आकाशमा कार्गो विमान दुर्घटना, सातको ज्यान गयो

    अमेरिकाको आकाशमा कार्गो विमान दुर्घटना, सातको ज्यान गयो

    एजेन्सी कार्तिक १९ । अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल विमानस्थलबाट उडेको केही समयमै यूपीएस एयरलाइन्सको एक कार्गो विमान मंगलबार दुर्घटनाग्रस्त भएको छ। राज्यका गभर्नर एन्डी वेशियरका अनुसार दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। उनले घाइतेमध्ये केहीको अवस्था अत्यन्तै गम्भीर रहेको र मृत्यु हुने संख्या अझ बढ्न सक्ने चेतावनी दिएका छन्।

    विमानमा करिब ३८ हजार ग्यालेन इन्धन रहेकोले दुर्घटनापछि ठूलो विस्फोट भएको र नजिकका व्यापारिक भवनहरूमा समेत आगो फैलिएको बताइएको छ। यूपीएसका अनुसार विमानमा रहेका तीन चालक दलका सदस्यहरूको अवस्था अझै अज्ञात छ।

    घटनापछि सहरका आपतकालीन सेवाहरू परिचालित भएका छन्। सीएनएनका अनुसार दुर्घटनास्थल वरपर कालो बाक्लो धुवाँको मुस्लो टाढासम्म फैलिएको देखिएको छ। संघीय उड्डयन प्रशासन (FAA) र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) ले दुर्घटनाको अनुसन्धान सुरु गरेका छन्। एनटीएसबीको ‘गो टीम’ बुधबार केन्टकी पुग्ने बताइएको छ।

  • पर्सा प्रहरीको सफल अपरेशन : करोडौंको अवैध सामान र अपराधी नियन्त्रणमा

    पर्सा प्रहरीको सफल अपरेशन : करोडौंको अवैध सामान र अपराधी नियन्त्रणमा

    पर्सा कार्तिक १७ । जिल्ला प्रहरी कार्यालय पर्साले गत असोज ७ गतेदेखि कात्तिक ७ गतेसम्मको अवधिमा विभिन्न आपराधिक गतिविधि नियन्त्रणका साथै सामाजिक उत्तरदायित्वमा पनि प्रभावशाली उपलब्धि हासिल गरेको छ। प्रहरी उपरीक्षक एसपी सुदिपराज पाठकका अनुसार, अपराध नियन्त्रण, जनसचेतना तथा विपद् व्यवस्थापन सबै क्षेत्रमा पर्सा प्रहरीले सक्रियता देखाएको छ।

    यस अवधिमा प्रहरीले लागूऔषध कारोबारमा संलग्न ७ जनालाई पक्राउ गरी करिब ३१ ग्राम २९ मिलीग्राम खैरो हिरोइन, ३१ किलो ९०० ग्राम गाँजा र ११ किलो चरेश बरामद गरेको छ। साथै, भन्सार छलि ल्याइएका लत्ता कपडा, खाद्यान्नलगायत करिब ६ करोड १७ लाख रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको प्रहरी कार्यालयले जनाएको छ। अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गर्दै प्रहरीले फरार रहेका १७ जना प्रतिवादीलाई समेत पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाएको छ।

    मदिरा नियन्त्रण अभियान अन्तर्गत, बिरगंज क्षेत्रका विभिन्न स्थानबाट ४ हजार ६ सय ५० लिटर तयारी र ७ हजार ६ सय २० लिटर कच्चा मदिरा बरामद गरी १६ वटा अवैध भट्टी नष्ट गरिएको पर्सा प्रहरीको विवरणमा उल्लेख छ। त्यस्तै, अवैध रूपमा बालुवा लोड गरी ल्याइरहेका ३ वटा ट्र्याक्टर र वन अपराध अन्तर्गत १० क्युफिट सालको काठ नियन्त्रणमा लिइएको छ।सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्सा प्रहरीले एक महिनामा ९८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी करिब १ हजार ३ सय १० जनालाई प्रत्यक्ष लाभान्वित गरेको जनाएको छ।

    हराएका १२ जना (२ महिला, १० बालिका) लाई फेला पारी अभिभावकको जिम्मा लगाइएको छ। साथै, १७ लाख रुपैयाँ बराबरका प्रतिबन्धित पटाका बरामद गरी नष्ट गरिएको पनि प्रहरीले जनाएको छ। विपद् व्यवस्थापनतर्फ पनि प्रहरी सक्रिय रहेको छ। उद्धार कार्यमा ७५० जना प्रहरी खटाइएका थिए। दुई दिनसम्मको अभियानमा ४०८ विपद् प्रभावित परिवारलाई खाद्यान्न र मौसमी सामग्री वितरण गरिएको बताइएको छ। एसपी सुदिपराज पाठकका अनुसार, “पर्सा प्रहरीले अपराध नियन्त्रणका साथै समुदायमा सचेतना फैलाउने र विपद् व्यवस्थापनमा पनि निरन्तर सक्रियता प्रदर्शन गरिरहेको छ।”

  • बेपत्ता व्यक्तिको हत्या? झापामा शव गाडिएको फेला

    बेपत्ता व्यक्तिको हत्या? झापामा शव गाडिएको फेला

    झापा कार्तिक १५ । गत कात्तिक ९ गतेदेखि बेपत्ता सरोज शर्माको शव शनिबार बिहान शिवसताक्षी नगरपालिका–१०, माईधारको विरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा फेला परेको छ। मृतक ३३ वर्षीय शर्मा आईटी पेशामा काठमाडौंमा बस्दै आएका थिए र दसैँ–तिहार मनाउन घर आएका थिए।

    जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार शर्माको कार दुई दिनअघि मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र जलेको अवस्थामा फेला परेको थियो। शव कार फेला परेको स्थानदेखि करिब २०–२२ किलोमिटर टाढा पुलमुनि भेटिएको थियो। प्रहरीको अनुसन्धानमा घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ। अनुसन्धानको क्रममा उनीहरूको बयानका आधारमा शव खोज्न पुलमा पुगेको प्रहरीले जनाएको छ। प्रहरीले हत्यामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि गरिरहेको छ।

    शव फेला परेपछि आक्रोशित स्थानीयले माईधारमा पक्राउ परेकामध्ये एक व्यक्तिको घर तोडफोड गरेका छन्। त्यस्तै, मृतकको शव बोक्न प्रयोग भएको आशंकामा एउटा टेम्पो पनि स्थानीयले तोडफोड गरेका छन्। डीएसपी खड्काका अनुसार घटनाको प्रकृति हेर्दा हत्या चार दिनअघि भएको देखिन्छ। हत्यामा संलग्न केही व्यक्तिहरू लागुऔषध प्रयोगकर्ता रहेको दाबी गरिएको छ। प्रहरी अनुसन्धान जारी राख्दै छ र सबै तथ्य पत्ता लगाउने प्रयास भइरहेको छ।

  • मन्दिरमा भीडभाडका कारण दक्षिण भारतमा नौ जनाको मृत्यु

    मन्दिरमा भीडभाडका कारण दक्षिण भारतमा नौ जनाको मृत्यु

    भारत कार्तिक १५ । आन्ध्र प्रदेशको कासिबुग्गामा रहेको वेंकटेश्वर मन्दिरमा शनिबार भएको भागदौडमा ९ जनाको मृत्यु भएको छ। गभर्नरले मन्दिरमा भक्तहरूको भीडभाडबीच दुर्घटना भएकोमा गहिरो दुःख व्यक्त गरेका छन्।

    प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।यसअघि गत सेप्टेम्बरमा तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको चुनावी र्‍यालीमा भएको भागदौडमा ३६ जनाको मृत्यु भएको थियो। यस घटनाले भारतमा भीड व्यवस्थापन र सुरक्षा उपायको आवश्यकता पुनः उजागर गरेको छ।

  • प्रचण्डद्वारा दिएको चेतावनी: क्रान्ति नजिकै छ

    प्रचण्डद्वारा दिएको चेतावनी: क्रान्ति नजिकै छ

    काठमाडौँ कार्तिक १५ । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र गम्भीर संकटमा रहेको भन्दै हालको समय “साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण” भएको बताएका छन्।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम अझै अधुरो रहेको उल्लेख गर्दै, सरकारमा रहँदा र बाहिर रहँदा निरन्तर राज्यलाई सचेत गराउँदै आएको बताए।

    उनले भने, “२३ र २४ का घटनाक्रमले देखायो, क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ। जनताको असन्तुष्टि र आक्रोशलाई सही ढंगले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ।”

    हरेक नेतृत्वले आश्वासन दिने भए पनि ढिला परिणामका कारण सहिद परिवारमा आक्रोश हुनु स्वाभाविक भएको उनले बताए। “हाम्रो निरन्तर प्रयासमा सहिद घोषणा, विधेयक निर्माण र आयोग गठन भए पनि ती आयोगहरूले अपेक्षित परिणाम दिन सकेका छैनन्,” उनले जोड दिए।

  • बेमौसमी वर्षाले सर्लाहीमा पाकेको धान नष्ट

    बेमौसमी वर्षाले सर्लाहीमा पाकेको धान नष्ट

    सर्लाही कार्तिक १५ । जिल्लामा बेमौसमी वर्षाका कारण भित्र्याउन लागेको धानमा ठूलो क्षति पुगेको छ। बरहथवा नगरपालिका–१४, हरिपूर्वाका किसान विन्देश्वर रायका अनुसार बिहीबारदेखि परेको झरीले काटेर राखिएको धानमा असर पुर्‍याएको छ। उनले भने, “एक विघा खेतको धान कटिसकेको थियो, तर लगातार परेको वर्षाले केही धान कुहिएर नष्ट भइसकेको छ। भिजेको धान केही दिनमै उम्रिन थाल्छ।”

    किसान विनोद यादवले पनि समस्यामा परेको बताए। “भित्र्याउने समयमा झरीले धानबालीमा क्षति पुर्‍याउँदा मन अमिलो भयो। गत मङ्गलबार मात्रै धेरैले धान काटेका थिए, तर केही दिन सुकाएर उठाउने प्रयास गर्दा वर्षाले काम बिगार्‍यो,” उनले भने। सर्लाहीमा यसअघि आएको बाढी र हावाका कारण पनि किसान समस्यामा परेको थियो। अहिले परेको बेमौसमी झरीले पहिलेको क्षति अझ बढाएको छ। बागमती नगरपालिका–११ का किसान यज्ञ धिमालले बताए, “बोटमै रहेको धानमा बाला झर्नु, जमिन गल्नु र बोट लड्नु जस्ता समस्या देखिएका छन्। समयमै वर्षा नहुँदा रोपाइँ ढिला भयो र अहिले झरीले थप क्षति पुर्‍याएको छ।”

    जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए कि जिल्लाका अधिकांश स्थानमा भित्र्याउन ठिक्क पारेको धानमा ठूलो क्षति पुगेको छ। कृषि शाखा प्राविधिक हिमाल शाहीका अनुसार यसवर्ष जिल्लामा करिब ८० प्रतिशत क्षेत्रमै मात्र धान रोपाइँ भएको थियो, र ढिला रोपाइँका कारण उत्पादनमा गिरावट आउने सम्भावना छ।

  • भोजपुरमा ट्र्याक्टर दुर्घटनामा दुईको ज्यान गयो

    भोजपुरमा ट्र्याक्टर दुर्घटनामा दुईको ज्यान गयो

    भोजपुर कार्तिक १५ । भोजपुरको षडानन्द नगरपालिका–४ मा शनिबार भएको ट्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार चाम्लादाङबाट दिङ्लातर्फ काठ बोकेर आउँदै गरेको प्रदेश १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षीय चालक आइतबहादुर तामाङ र अरुण गाउँपालिका–४ चरम्बिका १७ वर्षीय नवीन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    त्यस दुर्घटनामा परी १९ वर्षीय दाछिरि शेर्पा, २३ वर्षीय अम्बर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीय सुनिता तामाङ घाइते भएका छन्। उनीहरूको दिङ्ला नगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको कारण अनुसन्धान भइरहेको जनाएको छ।

  • पेट्रोलको दर स्थिर, डिजेल सस्तो भयो

    पेट्रोलको दर स्थिर, डिजेल सस्तो भयो

    काठमाडौँ कार्तिक १५ । शुक्रबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले इन्धन मूल्य समायोजन गर्ने निर्णय गरेको छ। निर्णय अनुसार शनिबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको खुद्रा मूल्यमा प्रतिलिटर १ रुपैयाँले कमी गरिएको छ।

    पेट्रोलमा इण्डियन आयल कर्पोरेशनबाट खरिद मूल्य प्रतिलिटर ०.०३ रुपैयाँले बढे पनि निगमले उपभोक्तामाथि असर नपर्ने गरी मूल्य स्थिर राख्ने निर्णय गरेको हो। यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा प्रति किलोलिटर अमेरिकी डलर ७ ले वृद्धि गरिएको छ।

  • मिथिला क्षेत्रमा छठसँगै सांस्कृतिक पर्व सामा–चकेवा शुरू

    मिथिला क्षेत्रमा छठसँगै सांस्कृतिक पर्व सामा–चकेवा शुरू

    जनकपुरधाम कार्तिक १४ । छठ पर्वको खरनासँगै मिथिलाञ्चलमा सामा–चकेवा पर्व सुरु भएको छ। दस दिनसम्म चल्ने यस सांस्कृतिक पर्वले दिदी–भाइबीचको स्नेहलाई उत्सवको माध्यमबाट झल्काउने गर्दछ।

    पर्वको अवसरमा स्थानीय दिदी–बहिनीहरूले राति सामूहिक रूपमा गीत गाउँदै माटोका सामा, चकेवा, वृन्दावन, चुगला र सात भाइजस्ता पात्र निर्माण गर्छन्। चुगला पात्रमाथि हास्यपरिहास्यका गीत गाउने चलनले पर्वलाई मनोरञ्जनात्मक बनाउँछ।संस्कृतिविद्हरूका अनुसार सामा–चकेवा केवल दिदी–भाइको स्नेहको पर्व नभई वातावरणीय दृष्टिले पनि महत्वपूर्ण छ। परम्परा अनुसार, भगवान कृष्णकी छोरी श्यामा र वृन्दावनका कुमार चारुबक्य बीचको माया र उनका वरिपरि घटीएका घटनाहरूको स्मरणमा यो पर्व मनाइन्छ।

    यस पर्वले मिथिलाञ्चलको सांस्कृतिक पहिचान र परम्परागत जीवनशैलीलाई जीवित राख्दै नयाँ पुस्तालाई पनि सांस्कृतिक चेतना दिन्छ।

  • जनमत पार्टीकी नवनिर्वाचित निलम पासवानको शपथ सम्पन्न

    जनमत पार्टीकी नवनिर्वाचित निलम पासवानको शपथ सम्पन्न

    काठमाडौँ कार्तिक १४ । जनमत पार्टीकी प्रदेशसभा सदस्य निलम पासवानले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।

    लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभा सचिवालयमा आयोजित कार्यक्रममा पासवानलाई शपथ ग्रहण गराएको जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले जानकारी दिए।

    पासवानलाई निर्वाचन आयोगले दलित कोटाबाट बन्दसूचीमार्फत निर्वाचित गरेको हो। जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले राजीनामा दिएपछि रिक्त भएको पदमा पासवान चयन भएकी हुन्। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका निवासी पासवान जनमत पार्टीका तर्फबाट प्रदेशसभामा प्रवेश गर्ने नवीन सदस्य हुन्। हाल लुम्बिनी प्रदेशसभामा जनमत पार्टीका तीन जना सदस्य रहेका छन्।

  • ओली–लेखकमाथि परेको रिटमा सर्वोच्चको अन्तरिम आदेश नआउने

    ओली–लेखकमाथि परेको रिटमा सर्वोच्चको अन्तरिम आदेश नआउने

    काठमाडौँ कार्तिक १४ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्री रमेश लेखकको राहदानी रोक्का तथा स्थानहद सम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

    अधिवक्ता डा. प्रेमराज सिलवालले कात्तिक १२ गते दायर गरेको रिटमा दुई नेताको राहदानी रोक्का र स्थानहद आदेशको विरोध गर्दै अन्तरिम आदेश मागिएको थियो। तर सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासले शुक्रबार उक्त माग अस्वीकार गर्दै ‘कारण देखाऊ आदेश’ जारी गर्ने निर्णय गरेको हो। अदालतले विपक्षी पक्षहरूलाई कारण देखाई जवाफ पेश गर्न आदेश दिँदै अन्तरिम आदेशको आवश्यकता नरहेको ठहर गरेको छ। यससँगै, ओली र लेखकको राहदानी रोक्का तथा स्थानहदसम्बन्धी विवादमा अब अदालतले विस्तृत सुनुवाइपछि मात्र अन्तिम निर्णय गर्ने भएको छ।

  • बारामा तीन उद्योगले बुझाए विद्युत् महसुल, जगदम्बा स्टिलले देखायो आनाकानी

    बारामा तीन उद्योगले बुझाए विद्युत् महसुल, जगदम्बा स्टिलले देखायो आनाकानी

    बारा कार्तिक १४ । बारामा डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गर्ने तीन ठूला उद्योगले महसुल भुक्तान गरे पनि जगदम्बा स्टिलले भने बक्यौता बुझाउन अस्वीकार गरेको छ।

    नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रका अनुसार हुलास स्टिल, अशोक स्टिल र हामा आइरनले असोज ३० गतेदेखि किस्ताबन्दीमा महसुल बुझाउन सुरु गरिसकेका छन्। तर, जगदम्बा स्टिलले २०७२ पुसदेखि २०७५ पुससम्मको करिब १ अर्ब ६० करोड रुपैयाँ बक्यौता रकम तिर्न आलटाल गर्दै आएको बताइएको छ। बक्यौता रकम नतिरेपछि प्राधिकरणले कात्तिक ४ गते जगदम्बा स्टिलको ६६ हजार केभी विद्युत् प्रसारण लाइन काटेको हो। प्राधिकरणका प्रमुख इन्जिनियर रुमेश रुपाखेतीका अनुसार “उद्योगले सम्पर्कमा नआएकाले अन्य विकल्प नभएपछि लाइन काटिएको” हो।

    यता, जगदम्बा स्टिलका मजदुरहरूले भने उद्योग प्रशासनले जानाजान विद्युत् महसुल विवादलाई बल्झाउँदै मजदुरको रोजीरोटी संकटमा पार्ने काम गरेको आरोप लगाएका छन्। मजदुर युनियनका सचिव दिपक कार्कीले भने, “अन्य उद्योगले महसुल बुझाउँदा हाम्रो उद्योगले राज्यको कानुन उल्लङ्घन गरेर उद्योग बन्द गराउन खोज्नु गलत हो।” विद्युत् काटिएपछि उद्योगका नौवटा ठूला फलाम पगाल्ने भट्टी बन्द छन्, तर ११ हजार केभी लाइनबाट करिब ३०–४० प्रतिशत उत्पादन सञ्चालनमा रहेको कार्कीले जनाए। उनका अनुसार, उद्योगले मजदुर कटौतीको धम्की दिएर राज्यलाई दबाब दिने प्रयास गरिरहेको छ।

    जगदम्बा स्टिलमा करीब २ हजार मजदुर र कर्मचारी कार्यरत छन्। मजदुर युनियनका सहसचिव गोविन्द अधिकारीले भने, “विद्युत् महसुल उद्योग र सरकारले सुल्झाउने विषय हो, मजदुरको रोजगारी काटेर दबाब दिने काम अस्वीकार्य छ।” मजदुरहरूको गुनासो छ— विद्युत् महसुल विवादकै बहानामा उद्योगले २५ वर्षदेखि दिँदै आएको बोनस यस वर्ष रोकिएको छ।

    प्राधिकरणका प्रमुख रुपाखेतीका अनुसार डेडिकेटेड फिडर प्रयोग गर्ने पाँच उद्योगमध्ये सूर्य नेपालले सम्पूर्ण महसुल बुझाइसकेको छ, र अन्य तीन उद्योगले पनि पहिलो किस्ताको भुक्तानी गरिसकेका छन्। उनले भने, “जगदम्बा स्टिलले पहिलो किस्ताबापत करिब ५ करोड ७५ लाख बुझाउनुपर्ने थियो, तर सम्पर्कमा नआएपछि हामीले लाइन काट्यौं।”उद्योग प्रशासनका मानव संसाधन प्रमुख अनिल गजुरेलका अनुसार हाल उद्योगभित्र उत्पादन कार्य ठप्प छ र केवल मर्मत–सम्भारको काम भइरहेको छ। उनले भने, “मजदुरहरू नियमित हाजिर भइरहेका छन्, तर उत्पादन कहिले सुरु हुन्छ भन्नेबारे कुनै जानकारी आएको छैन।” सिमरा वितरण केन्द्रले भने थप निर्णयका लागि विद्युत् प्राधिकरण सञ्चालक समितिको निर्णय कुर्नुपर्ने जनाएको छ।