पर्सा प्रहरीको सफल अपरेशन : करोडौंको अवैध सामान र अपराधी नियन्त्रणमा

पर्सा कार्तिक १७ । जिल्ला प्रहरी कार्यालय पर्साले गत असोज ७ गतेदेखि कात्तिक ७ गतेसम्मको अवधिमा विभिन्न आपराधिक गतिविधि नियन्त्रणका साथै सामाजिक उत्तरदायित्वमा पनि प्रभावशाली उपलब्धि हासिल गरेको छ। प्रहरी उपरीक्षक एसपी सुदिपराज पाठकका अनुसार, अपराध नियन्त्रण, जनसचेतना तथा विपद् व्यवस्थापन सबै क्षेत्रमा पर्सा प्रहरीले सक्रियता देखाएको छ।

यस अवधिमा प्रहरीले लागूऔषध कारोबारमा संलग्न ७ जनालाई पक्राउ गरी करिब ३१ ग्राम २९ मिलीग्राम खैरो हिरोइन, ३१ किलो ९०० ग्राम गाँजा र ११ किलो चरेश बरामद गरेको छ। साथै, भन्सार छलि ल्याइएका लत्ता कपडा, खाद्यान्नलगायत करिब ६ करोड १७ लाख रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको प्रहरी कार्यालयले जनाएको छ। अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गर्दै प्रहरीले फरार रहेका १७ जना प्रतिवादीलाई समेत पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाएको छ।

मदिरा नियन्त्रण अभियान अन्तर्गत, बिरगंज क्षेत्रका विभिन्न स्थानबाट ४ हजार ६ सय ५० लिटर तयारी र ७ हजार ६ सय २० लिटर कच्चा मदिरा बरामद गरी १६ वटा अवैध भट्टी नष्ट गरिएको पर्सा प्रहरीको विवरणमा उल्लेख छ। त्यस्तै, अवैध रूपमा बालुवा लोड गरी ल्याइरहेका ३ वटा ट्र्याक्टर र वन अपराध अन्तर्गत १० क्युफिट सालको काठ नियन्त्रणमा लिइएको छ।सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्सा प्रहरीले एक महिनामा ९८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी करिब १ हजार ३ सय १० जनालाई प्रत्यक्ष लाभान्वित गरेको जनाएको छ।

हराएका १२ जना (२ महिला, १० बालिका) लाई फेला पारी अभिभावकको जिम्मा लगाइएको छ। साथै, १७ लाख रुपैयाँ बराबरका प्रतिबन्धित पटाका बरामद गरी नष्ट गरिएको पनि प्रहरीले जनाएको छ। विपद् व्यवस्थापनतर्फ पनि प्रहरी सक्रिय रहेको छ। उद्धार कार्यमा ७५० जना प्रहरी खटाइएका थिए। दुई दिनसम्मको अभियानमा ४०८ विपद् प्रभावित परिवारलाई खाद्यान्न र मौसमी सामग्री वितरण गरिएको बताइएको छ। एसपी सुदिपराज पाठकका अनुसार, “पर्सा प्रहरीले अपराध नियन्त्रणका साथै समुदायमा सचेतना फैलाउने र विपद् व्यवस्थापनमा पनि निरन्तर सक्रियता प्रदर्शन गरिरहेको छ।”

प्रतिक्रिया
सम्बन्धित खवर