Blog

  • “आलमको निधनमा कांग्रेसका सबै कार्यालय आइतबार बन्द

    “आलमको निधनमा कांग्रेसका सबै कार्यालय आइतबार बन्द

    काठमाडौँ कार्तिक २२ । पूर्वमन्त्री तथा पूर्वकेन्द्रीय सदस्य मोहम्मद आफ्ताव आलमको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली कांग्रेसले आइतबार पार्टीका सबै तहका कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। शनिबार बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले यस निर्णय गरेको हो।

    पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, बैठकले तीन दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने र स्वर्गारोहणको १३ दिनसम्म शोक पुस्तिका राख्ने व्यवस्था पनि तय गरेको छ। आलमको ६३ वर्षको उमेरमा काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा निधन भएको हो। रौतहटका पूर्वसभापति आलमले कांग्रेसमा लामो समय सेवा दिएका थिए।

  • बिहार विधानसभा चुनावको तयारी : पर्सा नाकामा यातायात रोक

    बिहार विधानसभा चुनावको तयारी : पर्सा नाकामा यातायात रोक

    पर्सा कार्तिक २२ । छिमेकी देश भारतको बिहार राज्यमा हुन गइरहेको विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै पर्सा जिल्ला र भारतको पूर्वी चम्पारण जिल्लालाई जोड्ने सीमा नाकाहरूमा आवागमन बन्द गरिएको छ।

    जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनाअनुसार, कात्तिक २२ गतेदेखि २५ गते साँझ ६ बजेसम्म अत्यावश्यक बाहेक सबै प्रकारका आवतजावतमा रोक लगाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीका अनुसार, नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय बैठकमा असोज २९ गते भएको समझदारी अनुसार यो निर्णय लागू गरिएको हो।

    निर्वाचन हुने कात्तिक २५ गतेसम्म सीमावर्ती सबै नाकामा आवागमन पूर्ण रूपमा बन्द रहने जिल्ला सुरक्षा समितिको निर्णय रहेको उनले जानकारी दिएका छन्। यस निर्णयले सीमा क्षेत्रमा सुरक्षा र निर्वाचन प्रक्रियाको सहजता सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

  • ओलीको हरेक नाटक चुनाव रोक्ने रणनीति हो’ — प्रभु साह

    ओलीको हरेक नाटक चुनाव रोक्ने रणनीति हो’ — प्रभु साह

    कठमाडौँ कार्तिक २२ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीमाथि २१ फागुनमा हुने चुनाव भाँड्न नयाँ नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन्।

    शनिबार काठमाडौँमा आयोजित अन्तरक्रियामा साहले भने, “चुनाव हुन नदिने कुनै पनि षड्यन्त्रविरुद्ध जनस्तरबाटै प्रतिवाद गर्नुपर्छ।” उनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने नाममा ओलीले आफ्नो दलका नेताहरूलाई हस्ताक्षर सङ्कलन अभियान चलाउन लगाएको र चुनावबाट नभाग्न चेतावनी दिएको बताए। साहले जेनजी आन्दोलनका क्रममा चरम दमन गर्ने र युवाहरूको छाती र टाउकोमा गोली हानेको घटनामा संलग्नहरूप्रति सरकारले कारबाही अघि बढाउन असफल भएको आरोप लगाए। उनले भने, “ओलीको दम्भकारी शासन र अहङ्कारलाई युवाहरूको बलले धुलो चटाएको छ, त्यसैले एमाले चुनाव सामना गर्न डराएको हो।”

    उनले गृहमन्त्री ओमप्रसाद अर्याललाई पनि आलोचना गर्दै भने कि सस्तो लोकप्रियतामा रमाउने सट्टा जेनजी हत्याराहरूलाई छिटो कारबाही गर्न जरुरी छ। साहले पूर्वराष्ट्रपतिहरूको जलेको घर अवलोकन गरेर फोटो प्रचारबाजी गर्नुको सट्टा न्याय सुनिश्चित गर्न सरकारको ध्यान जानुपर्ने बताएका छन्। साहले जेनजी आन्दोलनमा संलग्न व्यक्तिलाई छानीछानी पक्राउ गर्ने र हत्यारालाई उन्मुक्ति दिने नाटक रचिएको आरोप पनि लगाए। उनले सरकारलाई चेतावनी दिँदै भने, “जसरी पनि २१ फागुनमा चुनाव सम्पन्न गराउने दायित्वबाट सरकार नभाग्नुपर्छ।”

  • ‘रिझाएर होइन, प्रणालीका आधारमा काम हुन्छ’ — गृहमन्त्री

    ‘रिझाएर होइन, प्रणालीका आधारमा काम हुन्छ’ — गृहमन्त्री

    काठमाडौँ कार्तिक २२ । गृहमन्त्री ओमप्रसाद अर्यालले देशमा सुरक्षा, सुशासन र अर्थतन्त्रको जगेर्नाका लागि सरकार दृढ रहेको बताएका छन्।

    नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले शान्ति र सुरक्षाको सुनिश्चितताका लागि मन्त्रीहरूलाई रिझाउनुपर्ने आवश्यकता नभएको स्पष्ट पारे।

    “अब सुरक्षा र सुशासन पनि सरकारले दिन्छ, मन्त्रीलाई रिझाउने काम गर्नु पर्दैन,” — गृहमन्त्री अर्याल

    उनले गत भदौ २४ गतेको आन्दोलनका क्रममा घुसपैठ गरेर तोडफोड र आगजनी भएका घटनाको तथ्यांक प्रस्तुत गर्दै २११ वटा व्यापारिक तथा निजी भवन पूर्णरूपमा नष्ट र ४२७ भवन आंशिक क्षतिग्रस्त भएको बताए। गृहमन्त्रीका अनुसार घटनापछि ७१० वटा हराइएका हतियार फिर्ता भइसकेका छन्। त्यस्तै, १४ हजार ५४९ जना फरार कैदीबन्दीमध्ये ९ हजार ५२१ जना ९६५५० पक्राउ परेका छन् भने बाँकी ५ हजार १०५ जना अझै फरार रहेको उनले जानकारी दिए।

    उनका अनुसार भदौ २४ का घटनामा संलग्न ३८० जनालाई पक्राउ गरी १५० जनाविरुद्ध आपराधिक उपद्रव, अभद्र व्यवहार, हतियार देखाई तर्साउने र जनआक्रोश उक्साउने लगायतका मुद्दा दायर गरिएको छ।

    अर्यालले छोटो समयमा स्थिति सामान्यीकरण गर्न सरकार सफल भएको दाबी गर्दै भने, “अब छिटपुट घटना भए पनि तत्काल पत्ता लगाएर रोक्ने काम गरिन्छ। कानुनी राज्यको जगेर्ना सबैको साझा दायित्व हो।”

    उनले सुशासनले नै सुरक्षा, आत्मसम्मान र गरिमा दिन सक्ने उल्लेख गर्दै राम्रो कामको मूल्यांकन र प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

    “पछिल्लो पुस्ताको आन्दोलनको मूल कारण कुशासन थियो। यदि सुशासन दिन सकिएन भने द्वन्द्व दोहोरिन सक्छ, जसले राष्ट्रिय सुरक्षा संकट निम्त्याउन सक्छ,” — गृहमन्त्री अर्याल

    अन्त्यमा उनले अर्थतन्त्र र कानुनी राज्य परिपूरक सम्बन्धमा रहेको बताउँदै नागरिक र निजी क्षेत्रले पनि त्यसको जिम्मेवारी लिनुपर्ने उल्लेख गरे।

    “सरकारले उद्योग, व्यवसाय र बासस्थानको पूर्ण सुरक्षा दिनेछ। आर्थिक आधारशिला बलियो बनाउन र अर्थतन्त्रका कर्ताहरूलाई सुरक्षा दिनु राज्यको प्राथमिकता हो,” — गृहमन्त्री अर्याल

  • सर्लाहीमा एक पुरुष मृत अवस्थामा फेला

    सर्लाहीमा एक पुरुष मृत अवस्थामा फेला

    सर्लाही कार्तिक २२ । सर्लाहीको लालबन्दी नगरपालिका–१५ स्थित माथिल्लो देउराली सामुदायिक वनभित्र एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

    शनिबार बिहान उक्त जंगलमा लालबन्दी–१६ बस्ने ५५ वर्षीय भरत बस्नेतको शव फेला परेको प्रहरीले जनाएको छ।स्थानीयवासीहरूले जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने कार्य गरेको हो। मृतक बस्नेतको मृत्युको कारण स्पष्ट नभएको र घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    प्रारम्भिक जानकारीअनुसार बस्नेत शुक्रबार बिहान घरबाट निस्किएका थिए। तर साँझसम्म घर नफर्केपछि परिवारले खोजी गरिरहेका बेला शनिबार बिहान जंगलमा उनको शव फेला परेको थियो। प्रहरीले शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाएको छ र घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको जनाएको छ।

  • ब्राजिलमा भीषण आँधी: ५ जनाको मृत्यु, १३० भन्दा बढी घाइते

    ब्राजिलमा भीषण आँधी: ५ जनाको मृत्यु, १३० भन्दा बढी घाइते

    एजेन्सी कार्तिक २२ । दक्षिणी ब्राजिलका विभिन्न भागहरूमा शुक्रबार आएको भीषण आँधीबेहरीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको र करिब १३० जना घाइते भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन्।

    स्थानीय मौसम सेवाका अनुसार पाराना राज्यको रियो बोनिटो डो इगुआकु नगरपालिका सबैभन्दा बढी प्रभावित क्षेत्र हो। आँधीका कारण सवारीसाधन पल्टिनुका साथै कयौँ घरहरू क्षतिग्रस्त भएका छन्। सिभिल डिफेन्स विभागले जारी गरेको विज्ञप्तिमा पराना राज्यका धेरै स्थानमा आँधीको प्रभाव परेको जनाइएको छ। त्यहाँ ३० जना गम्भीर घाइते र करिब सय जना सामान्य घाइते भएको स्थानीय उद्धार एजेन्सीले जनाएको छ।

    पारानाको वातावरणीय प्रविधि तथा अनुगमन प्रणालीका अनुसार रियो बोनिटो डो इगुआकुमा हावा १८० देखि २५० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको थियो। तीव्र गतिको हावाले रूख ढाल्नुका साथै घर र पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। पारानाका गभर्नर रतिन्हो जुनियरले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सेनालाई परिचालन गरिएको र गम्भीर रूपमा प्रभावित सहरहरूमा निगरानी र उद्धार कार्य तीव्र पारिएको बताएका छन्। मौसम विज्ञहरूका अनुसार पारानाका साथै सान्ता क्याटरिना र रियो ग्रान्डे डो सुल राज्यहरूमा पनि थप आँधीबेहरीको खतरा कायमै रहेको र सावधानी अपनाउन चेतावनी जारी गरिएको छ।

  • मधेस प्रदेशमा सत्ता संकट: मुख्यमन्त्री सोनलको राजीनामा

    मधेस प्रदेशमा सत्ता संकट: मुख्यमन्त्री सोनलको राजीनामा

    जनकपुरधाम कार्तिक २२ । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज राजीनामा दिएका छन्। उनले केहीबेरअघि प्रदेशसभा सभामुख रामचन्द्र मण्डलसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

    आज मधेस प्रदेशसभाको बैठक विश्वासको मतका लागि बसेको थियो। तर मतदानको क्रममा मुख्यमन्त्री सोनलले विश्वासको मत नपाउने निश्चित देखिएपछि बैठक बीचमै बाहिरिएका थिए।

    बैठक १० मिनेटका लागि स्थगित गरिए पनि करिब डेढ घण्टासम्म पनि पुनः सुरु हुन सकेन। त्यसपछि सोनलले आफ्नो पदबाट राजीनामा दिएका हुन्। सोनल लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता हुन्। उनी संविधानको धारा १६८(२) बमोजिम गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

    त्यस क्रममा उनले ६ दलको समर्थनमा ५७ प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेश गरी मुख्यमन्त्री बनेका थिए। सोनलको राजीनामासँगै मधेस प्रदेशमा फेरि नयाँ राजनीतिक समीकरणको सम्भावना खुलेको छ।

  • ९ बुँदे प्रस्ताव पारित : कम्युनिस्ट पार्टी एकता सम्मेलन

    ९ बुँदे प्रस्ताव पारित : कम्युनिस्ट पार्टी एकता सम्मेलन

    काठमाडौँ कार्तिक १९ । काठमाडौंमा जारी नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको छ। सम्मेलनले पार्टीको नाम, चुनाव चिह्न, र अन्य महत्वपूर्ण विषयहरूमा निर्णय गरेको हो।

    सम्मेलनमा वर्षमान पुन अनन्तले प्रस्तुत गरेका प्रस्तावहरू प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका छन्।

    यी हुन् ९ बुँदे प्रस्ताव

    १. एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय गरिएको छ।

    २. चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ।

    ३. एकतामा सहभागी सबै सदस्यहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका सदस्य हुने निर्णय गरिएको छ।

    ४. एकतामा सहभागी सबै पार्टीका नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजन सम्बन्धी काम गर्ने तथा यसअघि सबै घटकका केन्द्रीय समितिलाई समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरिएको छ।

    ५. केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजनसम्बन्धी काम गर्ने अख्तियारी पार्टीका संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ।

    ६. विगतका प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी समाजवादीको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका जनप्रतिनिधि हुनेछन्।

    ७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल–अचल, बैंक मौज्दातलगायतका सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिष्ट पार्टीको स्वामित्वमा रहनेछ।

    ८. नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र पारित गरिएको छ।

    ९. नेपाली कम्युनिष्ट पार्टीको विधान छलफल र आवश्यक सुझावसहित पारित गरिएको छ।

  • ‘एकतामार्फत नयाँ युगको सुरुवात’– प्रचण्डको टिप्पणी

    ‘एकतामार्फत नयाँ युगको सुरुवात’– प्रचण्डको टिप्पणी

    काठमाडौँ कार्तिक १९ । नेपाली कम्युनिस्ट पार्टीका नवनियुक्त संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वटा कम्युनिस्ट घटकबीच भएको एकतालाई नेपाली राजनीतिक इतिहासको अविस्मरणीय क्षणका रूपमा व्याख्या गरेका छन्।

    बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा बोल्दै प्रचण्डले भने, “आजको दिन कसैले मेटाएर मेट्न सक्दैन। सबै घटकहरू एउटै विचारमा उभिएका छन्, देशका समस्या समाधान गर्न सक्ने आत्मविश्वास बढेको छ।”

    उनका अनुसार यो एकता केवल दलगत उद्देश्यका लागि नभई देशको संकट समाधानका निम्ति भएको ऐतिहासिक कदम हो। “अघिल्लो पटक दुई घटकबीच एकता भएको थियो, तर १० घटकबीचको एकता पहिलोपटक हो,” उनले भने।

    प्रचण्डले डिजिटल प्लेटफर्ममार्फत युवा पुस्ता जेनजी ले उठाएको आन्दोलनलाई समर्थन जनाउँदै उनीहरूको भावना आत्मसात गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

  • ‘कम्युनिष्ट पार्टी अझ बलियो बनाउनेछौं’ — माधवकुमार नेपाल

    ‘कम्युनिष्ट पार्टी अझ बलियो बनाउनेछौं’ — माधवकुमार नेपाल

    काठमाडौँ कार्तिक १९ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीलाई अझ एकीकृत र बलियो बनाएर अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

    एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले विचार र सिद्धान्त मिल्ने दल तथा नेतासँग निरन्तर एकताको पहल गर्ने बताउँदै, गणतन्त्र र संघीयताको रक्षा गर्न मोर्चाबन्दीमार्फत पनि अघि बढ्ने स्पष्ट संकेत दिए।

    “संविधानको रक्षा गर्न चाहनेहरूबीच अझै पनि एकता आवश्यक छ,” उनले भने, “गणतन्त्रका पक्षधरहरूबीच हातेमालो गर्दै अघि बढ्नका लागि पहल गरिनेछ।” उनले विचार, सिद्धान्त, कार्यदिशा, रणनीति र कार्यनीति मिल्नेहरूसँग एकता गर्दै देशभक्त शक्तिसँग मोर्चा निर्माण गर्ने बताए। नेपालले कसैप्रति पूर्वाग्रह नराखी सकारात्मक सोचका साथ एकता अभियान अघि बढाइने उल्लेख गर्दै विदेशी दलाल र गणतन्त्रका विरोधीहरूलाई पार्टीमा स्थान नदिइने पनि स्पष्ट गरे।

  • ‘अब प्रचण्ड–माधव देशका नेता बन्ने बेला’– महिन्द्र राय यादव

    ‘अब प्रचण्ड–माधव देशका नेता बन्ने बेला’– महिन्द्र राय यादव

    काठमाडौँ कार्तिक १९ । नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता महिन्द्र राय यादवले मुलुक कठिन मोडमा रहेका बेला नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले देशलाई निकास दिन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

    बुधबार आयोजित एकता घोषणा कार्यक्रममा बोल्दै यादवले जेनजी आन्दोलनपछि कांग्रेस र एमाले निष्क्रिय बनेको अवस्थामा प्रचण्ड र नेपालले अग्रसरता लिएर राजनीतिक दिशा देखाएको उल्लेख गरे। उनले दुई नेतालाई पार्टीको सीमाभन्दा माथि उठेर राष्ट्रिय नेतृत्वको भूमिका लिनुपर्ने समय आएको बताए। “अब उहाँहरूसामु ठूलो जिम्मेवारी छ, पार्टीका मात्र होइन, देशका नेता बन्ने बेला आएको छ,” यादवले भने।

    यादवले कम्युनिस्ट पार्टीहरूको विगतको टुटफुट अन्त्य हुने विश्वास व्यक्त गर्दै भने, “१० भाइ एक ठाउँमा आएका छन्, अब आन्तरिक लोकतन्त्रको अभावकै कारण दोहोरिएको विभाजनको शृंखला समाप्त हुनेछ।” उनले माओवाद छाडेर मार्क्सवाद र लेनिनवादको बाटो समातेकोमा पार्टी नेतृत्वलाई धन्यवाद दिँदै भने, “तर मार्क्सवादले भनेझैं नेतृत्वले पनि समयअनुसार आफूलाई बदल्नुपर्नेछ।”

  • उपेन्द्र यादवले भने– ‘जेनजी पुस्ताको आन्दोलनलाई निर्वाचनले बाँधेको छ’

    उपेन्द्र यादवले भने– ‘जेनजी पुस्ताको आन्दोलनलाई निर्वाचनले बाँधेको छ’

    काठमाडौँ कार्तिक १९ । जनता समाजवादी पार्टी नेपाल जसपा का अध्यक्ष उपेन्द्र यादवले नयाँ पुस्ताको आन्दोलनलाई केवल निर्वाचनसम्म सीमित गरिएको टिप्पणी गरेका छन्।

    बुधबारदेखि काठमाडौंमा सुरु भएको जसपाको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले भने, “युवा पुस्ताले गरेको विद्रोहको उपलब्धि केवल सरकार परिवर्तन र २०८४ को संसदीय निर्वाचन २०८२ मा हुनेमा मात्र सीमित हुने हो कि भन्ने आशंका बढेको छ।” यादवले हाल संविधान संशोधन, निर्वाचन प्रणाली, शासन स्वरूप, समानुपातिक समावेशी र पहिचानको मुद्दा ओझेलमा परेको उल्लेख गर्दै ती विषयलाई पुनः अगाडि ल्याउन आवश्यक रहेको बताए।

    उनले भने, “क्रान्तिकारी परिवर्तन भनेको केवल सत्ताको हस्तान्तरण होइन, बरु सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक जीवनमा आमूल रूपान्तरण हो।” निर्वाचन क्षेत्र पुनः निर्धारणको माग गर्दै यादवले समान जनसंख्या आधारित प्रतिनिधित्व प्रणाली र महिला तथा दलित समुदायका लागि आरक्षित क्षेत्रको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए।

    यादवले संविधानविपरीत गरिएका कार्यहरू आफ्नो पार्टीले अस्वीकार गर्ने उल्लेख गर्दै विगतका उपलब्धिलाई धरापमा पार्ने षड्यन्त्र भइरहेको आरोप लगाए। साथै, दोस्रो जनआन्दोलन, मधेस र थरुहट आन्दोलनसँग सम्बन्धित छानबिन आयोगका प्रतिवेदनहरू सार्वजनिक गर्न उनले सरकारसँग माग गरे।