ओलीको हरेक नाटक चुनाव रोक्ने रणनीति हो’ — प्रभु साह

कठमाडौँ कार्तिक २२ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीमाथि २१ फागुनमा हुने चुनाव भाँड्न नयाँ नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन्।

शनिबार काठमाडौँमा आयोजित अन्तरक्रियामा साहले भने, “चुनाव हुन नदिने कुनै पनि षड्यन्त्रविरुद्ध जनस्तरबाटै प्रतिवाद गर्नुपर्छ।” उनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने नाममा ओलीले आफ्नो दलका नेताहरूलाई हस्ताक्षर सङ्कलन अभियान चलाउन लगाएको र चुनावबाट नभाग्न चेतावनी दिएको बताए। साहले जेनजी आन्दोलनका क्रममा चरम दमन गर्ने र युवाहरूको छाती र टाउकोमा गोली हानेको घटनामा संलग्नहरूप्रति सरकारले कारबाही अघि बढाउन असफल भएको आरोप लगाए। उनले भने, “ओलीको दम्भकारी शासन र अहङ्कारलाई युवाहरूको बलले धुलो चटाएको छ, त्यसैले एमाले चुनाव सामना गर्न डराएको हो।”

उनले गृहमन्त्री ओमप्रसाद अर्याललाई पनि आलोचना गर्दै भने कि सस्तो लोकप्रियतामा रमाउने सट्टा जेनजी हत्याराहरूलाई छिटो कारबाही गर्न जरुरी छ। साहले पूर्वराष्ट्रपतिहरूको जलेको घर अवलोकन गरेर फोटो प्रचारबाजी गर्नुको सट्टा न्याय सुनिश्चित गर्न सरकारको ध्यान जानुपर्ने बताएका छन्। साहले जेनजी आन्दोलनमा संलग्न व्यक्तिलाई छानीछानी पक्राउ गर्ने र हत्यारालाई उन्मुक्ति दिने नाटक रचिएको आरोप पनि लगाए। उनले सरकारलाई चेतावनी दिँदै भने, “जसरी पनि २१ फागुनमा चुनाव सम्पन्न गराउने दायित्वबाट सरकार नभाग्नुपर्छ।”

प्रतिक्रिया
सम्बन्धित खवर