Blog

  • सर्वोच्चको आदेश : करार कर्मचारी तत्काल नहटाउन निर्देशन

    सर्वोच्चको आदेश : करार कर्मचारी तत्काल नहटाउन निर्देशन

    काठमाडौँ कार्तिक २३ । सर्वोच्च अदालतले राष्ट्रिय समावेशी आयोगमा करारमा नियुक्त कर्मचारीहरूलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ।

    सरकारले सार्वजनिक निकायका पदाधिकारीहरूलाई करारमा स्वकीय सचिव दिने व्यवस्था हटाएपछि आयोगका करार कर्मचारीहरूलाई हटाइएको थियो। यसविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले पुस मसान्तसम्म पदावधि रहेका करार कर्मचारीलाई पदबाट नहटाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।

    अदालतले उक्त कर्मचारीहरूको नियुक्ति अवधि सकिनु अघि हटाइएको कार्यले न्यायसंगत प्रक्रिया उल्लंघन गरेको देखिने प्रारम्भिक धारणा व्यक्त गरेको छ। यो आदेशपछि राष्ट्रिय समावेशी आयोगमा कार्यरत करार कर्मचारीहरू हालका लागि आफ्नो पदमा यथावत रहने भएका छन्।

  • जनकपुरबाट सुरु भयो नेकपाको ‘जेनजेड फ्रन्ट’, युवामुखी अभियानको सुरुवात

    जनकपुरबाट सुरु भयो नेकपाको ‘जेनजेड फ्रन्ट’, युवामुखी अभियानको सुरुवात

    जनकप्ुरधाम कार्तिक २३ । आठ वटा कम्युनिस्ट पार्टीहरूको एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टी नेकपा अन्तर्गतको नयाँ युवा संगठन ‘नेपाली कम्युनिस्ट पार्टी–जेनजेड फ्रन्ट’ को घोषणा गरिएको छ।

    जनकपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत श्याम साहको संयोजकत्वमा जेनजेड फ्रन्टको औपचारिक घोषणा गर्दै संगठनले आफ्नो प्रस्तावना, उद्देश्य र संरचना सार्वजनिक गरेको हो। प्रस्तावनामा फ्रन्टले नयाँ पुस्ताको वैचारिक, संगठनात्मक र नेतृत्वगत प्रतिनिधित्व सुनिश्चित गर्ने र कम्युनिस्ट आन्दोलनलाई आधुनिक सोच र प्रविधिसँग जोड्ने लक्ष्य प्रस्तुत गरेको छ। साथै, समाजवाद, जनसत्ता र वर्गीय समानता स्थापनाका लागि वैज्ञानिक र व्यवहारिक दृष्टिकोण अपनाउने प्रतिबद्धता पनि उल्लेख गरिएको छ।

    नीति दस्तावेजअनुसार, फ्रन्टले युवा पुस्तालाई राजनीतिक चेतना, अध्ययन, अनुशासन र नेतृत्वका क्षेत्रमा प्रशिक्षित गर्दै भावी वैचारिक अग्रणी बनाउन अभियान सञ्चालन गर्नेछ। कार्यक्रममा संयोजक साहले भने, “जेनजेड फ्रन्ट केवल युवा संगठन होइन, यो वैचारिक, राजनीतिक र सामाजिक चेतनाको नयाँ लहर हो। नयाँ पुस्ताको सोच र संघर्षलाई जोड्दै समाजवादी रूपान्तरणको नयाँ अध्याय सुरु भएको छ।”

    संगठनले जनवादी क्रान्तिलाई समाजवादी रूपान्तरणमा लैजाने दीर्घकालीन रणनीति लिएको जनाएको छ। यसअन्तर्गत स्थानीयदेखि राष्ट्रिय तहसम्म युवा, विद्यार्थी र श्रमिक समुदायबीच वैचारिक अभियान सञ्चालन गर्ने तयारी गरिएको बताइएको छ।

  • राष्ट्रपतिद्वारा फागुन २१ को निर्वाचनमा सहभागिताको अपिल

    राष्ट्रपतिद्वारा फागुन २१ को निर्वाचनमा सहभागिताको अपिल

    काठमाडौँ कातिृक २३ । राष्ट्रपति रामचन्द्र पौडेल ले सुशासन र लोकतन्त्रलाई थप मजबुत बनाउन आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल पार्न सबै नागरिकलाई आह्वान गरेका छन्।

    आइतबार सिंहदरबारमा आयोजित सार्वजनिक सेवा प्रसारण नेपालको पहिलो वार्षिकोत्सव तथा एनटीभी वर्ल्डको औपचारिक शुभारम्भ समारोहमा बोल्दै राष्ट्रपति पौडेलले लोकतन्त्रको जरा बलियो बनाउन सञ्चारमाध्यमको भूमिका निर्णायक हुने बताए।

    “नेपाली जनताको ठूलो बलिदानीबाट स्थापित लोकतन्त्रको संरक्षण र सुदृढीकरणमा सञ्चारमाध्यमको योगदान अपरिहार्य छ,” राष्ट्रपति पौडेलले भने। उनले विशेषतः युवा पुस्ताको सुशासन र विकासप्रतिको आकांक्षालाई सम्बोधन गर्न आगामी निर्वाचनलाई सफल बनाउनुपर्नेमा जोड दिए। राष्ट्रपतिले सञ्चारमाध्यमलाई देशको सकारात्मक परिवर्तन, विकासका अवसर र सम्भावनाबारे जनतालाई सूचित गर्ने जिम्मेवारी दत्तचित्त भएर पूरा गर्न आग्रह गरे।

    साथै, उनले सूचना प्रविधिको तीव्र विस्तारसँगै सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रभाव बढेको उल्लेख गर्दै, प्रविधिको दुरुपयोगले जनतालाई भ्रममा पार्ने जोखिम रोक्न जिम्मेवार सञ्चारमाध्यमको भूमिका अत्यावश्यक हुने बताए।

  • जसपा नेपालमा फेरी विभाजन : दुई नेताले पार्टी छाडे

    जसपा नेपालमा फेरी विभाजन : दुई नेताले पार्टी छाडे

    जनकपुरधाम कार्तिक २३ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपाल का दुई जना नेताले पार्टी परित्याग गरेका छन्।

    पार्टीभित्र हैकमवादी नेतृत्व र गुटगत राजनीति हाबी भएको आरोप लगाउँदै लुम्बिनी प्रदेशका अध्यक्ष सुमित्रा चौधरी र कार्यकारिणी सदस्य निरङ्कार यादव ले राजीनामा दिएका हुन्। उनीहरूले पार्टीमा विधि र विधानको अवहेलना हुँदै आएको र नेतृत्वले आन्तरिक लोकतन्त्रलाई कमजोर पारेको आरोप लगाएका छन्। चौधरी र यादव दुवैले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

    पार्टीभित्र पछिल्ला दिनमा बढ्दो असन्तुष्टि र विभाजनका घटनाले जसपा नेपालको आन्तरिक एकता पुनः प्रश्नमा परेको देखिन्छ।

  • गाजामा रगतको वर्षा, युद्धले ६९ हजारभन्दा बढीको ज्यान लियो

    गाजामा रगतको वर्षा, युद्धले ६९ हजारभन्दा बढीको ज्यान लियो

    एजेन्सी कार्तिक २३ । गाजाका स्वास्थ्य अधिकारीहरूले इजरायल–हमास युद्ध सुरु भएयता ६९ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको जानकारी दिएका छन्।

    यो तथ्यांक शनिबार युद्धविरामको प्रारम्भिक चरण अन्तर्गत जारी गरिएको हो, जसमा इजरायल र हमासबीच शव आदानप्रदान गरिएको थियो। यस क्रममा इजरायली आक्रमणमा मारिएका प्यालेस्टिनीहरूको शवसँगै, हमासद्वारा बन्धक बनाइएका इजरायलीहरूको शव पनि फिर्ता गरिएको छ।

    इजरायलले शनिबार थप १५ प्यालेस्टिनी शवहरू फिर्ता गरेको जनाएको छ। त्यस्तै, हमासले एक दिनअघि एक इजरायली बन्धकको शव इजरायललाई हस्तान्तरण गरेको हो। इजरायली प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गर्दै फिर्ता गरिएको शव लियोर रुडेफ को रहेको पुष्टि गरेको छ। यो शव आदानप्रदान प्रक्रिया युद्धविराम सम्झौताको महत्वपूर्ण अंश हो। सम्झौताअनुसार, हमासले सबै बन्धकहरूको शव सकेसम्म चाँडो फिर्ता गर्नुपर्नेछ। तर, हमाससँग हाल पनि कम्तीमा पाँच इजरायली बन्धकका शवहरू रहेको इजरायली अधिकारीहरूले बताएका छन्।

  • मनाङमा घुम्न आएका दुई भारतीय मृत भेटिए

    मनाङमा घुम्न आएका दुई भारतीय मृत भेटिए

    मनाङ कार्तिक २३ । मनाङमा घुम्न आएका जिग्नेशकुमार लल्लुभाइ पटेल ५२ र प्रियन्साकुमारी पटेल १७ को शव फेला परेको छ।

    ती भारतीय बाबु–छोरी ३ कात्तिकदेखि सम्पर्कविहीन थिए। उनीहरू ग्याल्सेन होटेलबाट मलेरिपा गुम्बा घुम्न जान्छु भनी हिँडेका थिए। सम्पर्कविहीन भएपछि होटेलले सशस्त्र प्रहरी बल र नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी दिएको थियो।

    प्रारम्भिक खोजी प्रयासपछि पनि उनीहरू फेला नपरेपछि २३ कात्तिकमा सशस्त्र प्रहरी नायब उपरीक्षक हीराबहादुर जीसीको नेतृत्वमा उद्धार टोली खटिएको थियो। टोलीले गुम्बाबाट करिब १०० मिटर माथि हिउँले पुरिएको अवस्थामा शव फेला पारेको प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र थापा ले जानकारी दिनुभयो। प्रहरीले घटनास्थलबाट उद्धार गरेपछि शव आवश्यक प्रक्रिया पूरा गरी परिवारलाई बुझाउने तयारी भइरहेको जनाएको छ।

  • श्रीलंकन नागरिक अवैध गाँजा बोकेर त्रिभुवन विमानस्थलमा पक्राउ

    श्रीलंकन नागरिक अवैध गाँजा बोकेर त्रिभुवन विमानस्थलमा पक्राउ

    काठमाडौँ कार्तिक २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध लागुऔषध गाँजासहित ३२ वर्षीया श्रीलंकन नागरिक निरोहिनी मुरुगान पक्राउ परेकी छन्।

    शनिबार दिउँसो थाई लायन एयरको उडानमार्फत बैंककबाट काठमाडौँ आएकी मुरुगानलाई विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले जाँचको क्रममा पक्राउ गरेको हो। उनको लगेजबाट करिब २ किलोग्राम गाँजा फेला परेको र नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

    पक्राउ परेकी मुरुगानलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो (NCB) मा पठाइएको छ। प्रहरीले यो प्रकरण विमानस्थलमा लागुऔषध नियन्त्रणको सतर्कता र निगरानीको महत्वलाई औंल्याउने उदाहरण भएको बताएको छ।

  • ओली भन्छन्– जेनजी आन्दोलनको आडमा सरकार सञ्चालन गर्नेहरू सक्रिय

    ओली भन्छन्– जेनजी आन्दोलनको आडमा सरकार सञ्चालन गर्नेहरू सक्रिय

    काठमाडौँ कार्तिक २३ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले सरकारभित्र रहेका व्यक्तिहरूले जेनजी आन्दोलनको नाममा देश जलाउने काम गर्दै आएको आरोप लगाउनुभएको छ।

    आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ, नेपाल को केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “सडकमा उफ्रिने आन्दोलनकारी मात्र होइनन्, जलाउनेहरूले नै देश चलाउने तमासा देखाइरहेका छन्।” उहाँले मुलुक अहिले असाधारण संकटमा रहेको भन्दै युवाहरूलाई देश र लोकतन्त्र जोगाउन अघि बढ्न प्रेरित गर्नुभयो।

    ओलीले संविधान र लोकतन्त्रको रक्षा गर्न, प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित आन्दोलनमा जाने निर्णय उहाँले लिएको स्पष्ट पार्नुभयो। उहाँको वक्तव्यले राजनीतिक अस्थिरता र आन्दोलनको नाममा भइरहेको गतिविधि सम्बन्धी गहिरो चिन्ता व्यक्त गर्दछ।

  • जेनजी आन्दोलन : प्रहरी हत्या प्रकरणमा अर्को अभियुक्त पक्राउ

    जेनजी आन्दोलन : प्रहरी हत्या प्रकरणमा अर्को अभियुक्त पक्राउ

    काठमाडौँ कार्तिक २३ । जेनजी आन्दोलनमा संलग्न भएर दुई प्रहरीको हत्या गरेको आरोपमा भोजपुरको दोभानेका इन्द्रबहादुर राई पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राईलाई काठमाडौंको पवित्रनगरबाट पक्राउ गरिएको हो।

    एसएसपी रमेश थापा का अनुसार राईले भदौ २३ र २४ मा भएको आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जका दुई प्रहरीको हत्या गरेको आरोप छ। पक्राउ परेका राई प्रहरी हत्या गर्दा लगाएको पहिचानयोग्य पोशाकमा नै फेला परेका छन्। भिडियो रेकर्ड अनुसार उनी कालो टी–सर्ट अगाडि हल्का रातो धर्सा सहित, हाफ पाइन्ट र सेतो जुत्ता लगाएर अपराध स्थलमा उपस्थित थिए।

    प्रहरीका अनुसार राई सहितका व्यक्तिहरूले वृत्त परिसरमा रहेको मन्दिर अगाडि प्रहरीलाई कुटपिट गरेका थिए। यस अघि पनि प्रहरीले प्रहरी हत्यामा संलग्न एक दर्जनभन्दा बढी व्यक्ति पक्राउ गरिसकेको छ भने केहीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। अनुसन्धान अझै जारी रहेको प्रहरीले जनाएको छ।

  • उत्तरी जापान हल्लियो: ६.७ म्याग्निच्युडको भूकम्पपछि सुनामी सतर्कता

    उत्तरी जापान हल्लियो: ६.७ म्याग्निच्युडको भूकम्पपछि सुनामी सतर्कता

    एजेन्सी कार्तिक २२ । आइतबार साँझ जापानको उत्तरी तटीय क्षेत्रमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पपछि थप परकम्पहरू समेत महसुस गरिएको छ र तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ।

    एजेन्सीका अनुसार जापानको स्थानीय समयअनुसार साँझ करिब ५ बजे इवाते प्रान्तको तटबाट करिब १० किलोमिटर समुद्र सतहमुनि केन्द्रविन्दु रहेको भूकम्प गएको थियो। सम्भावित रूपमा १ मिटर (लगभग ३ फिट) उचाइसम्मको सुनामी आउन सक्ने भन्दै अधिकारीहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। हालसम्म कुनै ठूलो क्षति वा मानवीय हानीको रिपोर्ट प्राप्त भएको छैन। प्रभावित क्षेत्रका दुई आणविक ऊर्जा केन्द्रहरूमा पनि कुनै असामान्य अवस्था देखिएको छैन। सुनामीको चेतावनी जारी गरिएको एक घण्टासम्म स्थिति निगरानीमा राखिएको जनाइएको छ।

    जापानको राष्ट्रिय प्रसारक एनएचके का अनुसार इवाते प्रान्तका ओफुनाटो, मियाको, कामाईशी र ओमिनाटो बन्दरगाहमा १० देखि २० सेन्टिमिटर उचाइका लहरहरू मापन भएका छन्। विशेषज्ञहरूले भूकम्पपछि थप लहरहरू आउने सम्भावना रहेको र तटीय क्षेत्रमा केही घण्टासम्म सतर्क रहन आग्रह गरेका छन्। भूकम्पपछि उक्त क्षेत्रमा बुलेट रेल सेवा अस्थायी रूपमा रोकिएको छ भने केही स्थानमा विद्युत् आपूर्ति पनि अवरुद्ध भएको जापानी समाचार संस्था क्योडो न्यूज ले जनाएको छ।

    प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित जापान विश्वका सबैभन्दा भूकम्प जोखिमयुक्त देशहरू मध्ये एक हो। सन् २०११ मा यही क्षेत्रमा आएको शक्तिशाली भूकम्प र सुनामीका कारण ठूलो जनधनको क्षति भएको थियो।

  • लगातार वृद्धि: सुनको मूल्य आज पनि माथि

    लगातार वृद्धि: सुनको मूल्य आज पनि माथि

    काठमाडौँ कार्तिक २३ । नेपाली बजारमा आइतबार पनि सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको भाउ घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ६ सय रुपैयाँले बढेर दुई लाख ३८ हजार चार सय रुपैयाँमा पुगेको सुन आइतबार फेरि २ सय रुपैयाँले बढेर दुई लाख ३८ हजार छ सय रुपैयाँमा कारोबार भएको छ।

    अन्तर्राष्ट्रिय बजारमा पनि सुनको दर उकालो लागेको छ। आइतबार सुनको मूल्य प्रतिऔंस १७ डलरले बढेर ४ हजार एक अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय विवरणमा उल्लेख छ। त्यस्तै, चाँदीको मूल्य भने आइतबार घटेको छ। अघिल्लो कारोबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य तीन हजार २० रुपैयाँ थियो।

  • “इजरायलको हवाई हमलामा लेबनानमा जनधनको क्षति: २८ मृतक, ५४ घाइते”

    “इजरायलको हवाई हमलामा लेबनानमा जनधनको क्षति: २८ मृतक, ५४ घाइते”

    एजेन्सी कार्तिक २२ । इजरायलले दक्षिणी लेबनानमा नयाँ हवाई आक्रमण सुरु गरेको छ। करिब एक वर्ष लामो युद्धविरामको बावजुद बढ्दो तनावका कारण इजरायली सेनाले अधिकांश गाउँका बासीन्दाहरूलाई क्षेत्र खाली गर्न चेतावनी दिएको छ।

    विश्लेषकहरूले यसलाई हिजबुल्लाहविरुद्धको दबाब अभियानको हिस्सा भएको बताएका छन्। इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका सैन्य लक्ष्यहरूलाई निशाना बनाउँदै हमलाहरूको श्रृंखला सञ्चालन गरेको छ। नयाँ हमलाले स्थानीय बासीन्दाहरूमा विस्थापन बढाएको छ। लक्षित क्षेत्रबाट भाग्ने क्रममा भारी ट्राफिक देखिएको छ। दक्षिणी लेबनानको नाबातीह क्षेत्रका धेरै निजी विद्यालयहरूले विद्यार्थी र शिक्षकहरूको सुरक्षाका लागि शुक्रबार बन्द रहने घोषणा गरेका छन्।

    लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली गोलाबारीमा परी २८ जनाको मृत्यु भएको छ भने ५४ जना घाइते भएका छन्। यो गत अक्टोबरमा भएको हताहतपछि क्षेत्रको सबैभन्दा ठूलो घटना मानिएको छ।