जनकपुरधाम ।
जनकपुरधामको धत्ता टोल राष्ट्रिय प्राथमिक विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । जनकपुरधाम वडा नम्बर १३स्थित धत्ता टोल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयको पोशाक वितरण गरिएको विद्यालयका शिक्षक जगदिश रायले जानकारी दिए । उनले विद्यार्थीहरुमा शिक्षाप्रतिको आकर्षण बढाउने अभिप्रायले विद्यालयकै कोषबाट विद्यार्थीहरुलाई विद्यालयको पोशाक वितरण गरिएको बताए । उनका अनुसार विद्यालयमा अध्ययनरत ९५ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामएकवाल दासको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह थिए । त्यस्तै कार्यक्रममा जनकपुरधाम १३का वडाध्यक्ष जीतबहादुर राउत, अभिभावक तथा स्थानीयको सहभागिता रहेको थियो । विद्यालयको स्थापना वि.सं. २०६६ सालमा भएको थियो ।





