नयाँ वर्ष २०८३को अवसर पारेर ‘स्वच्छ वातावरण, समृद्ध समाज – हाम्रो साझा संकल्प’ भन्ने नारासहित बृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
वैष्णवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा विदेह नगरपालिकास्थित तिनकौरियामा नयाँ वर्षको सुरुवातलाई साकारात्मक कार्यसँग जोड्दै समुदायमा स्वच्छता र हरियाली प्रवद्र्धन गर्ने उद्देश्य राखिएको थियो । यस अवसरमा सहभागीहरूले आफ्नो वरपरको क्षेत्र सरसफाई गर्दै वातावरण संरक्षणप्रति सचेतना फैलाउने काम गरेका थिए ।
कार्यक्रमको क्रममा वृक्षारोपण अभियान पनि सञ्चालन गरिएको थियो, जसअन्तर्गत विभिन्न स्थानमा बिरुवा रोपेर हरियाली विस्तार गर्ने पहल गरिएको संस्थाका अध्यक्ष रामअशिष मण्डलले जानकारी दिए । वृक्षारोपण गर्दा बिरुवा संरक्षणको हिसाबले ट्री गार्ड समेत प्रयोग गरिएको उनले बताए ।
सहकारीलाई केवल आर्थिक कारोबारमा सीमित नराखी सामाजिक तथा वातावरणीय सुधारमा पनि सक्रिय बनाउने उद्देश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत जयनाथ मण्डलले जानकारी दिए ।
कार्यक्रममा विदेह नगरपालिकाका नगरप्रमुख बेचन दास प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए भने स्थानीय, सहकारीका सदस्य तथा विभिन्न सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो ।

