एजेन्सी असोज २५ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको मन्त्रिमण्डलले गाजासँग भएको युद्धविराम सम्झौतामा अनुमोदन गरेसँगै इजरायली सेना गाजाको उत्तरी क्षेत्रमा पछि हट्न थालेको छ। सेनाको कदमपछि विस्थापित गाजावासीहरू खण्डहर बनेका आफ्नो घर फर्किन थालेका छन् भने सयौं मानवीय सहायता ट्रकहरू पनि गाजामा प्रवेश गरिरहेका छन्।
इजरायली मन्त्रिपरिषद्को बैठकमा अमेरिकी राष्ट्रपति प्रतिनिधि मध्यपूर्व दूत स्टीव विटकफ र पूर्व राष्ट्रपति ट्रम्पका ज्वाइँ जेरेड कुशनर पनि सहभागी थिए। सम्झौताअनुसार, इजरायली सेना गाजापट्टीको करिब ५३ प्रतिशत भूभाग नियन्त्रणमा राख्ने रेखामा फिर्ता हुनेछ।
सेना पूर्ण रूपमा गाजाबाट फिर्ता हुन तीन चरणमा अघि बढ्नेछ। पहिलो ७२ घण्टाभित्र हमासले जीवित रहेका २० बन्धकहरू रिहा गर्नेछ भने मृतक २८ बन्धकहरूको शव फिर्ता गर्ने प्रक्रिया पनि सुरु हुनेछ। दोस्रो चरणमा इजरायली जेलमा आजीवन कारावास भोगिरहेका करिब २५० प्यालेस्टिनी कैदीहरू र तेस्रो चरणमा गाजाका थप करिब १७०० बन्धीहरू पनि रिहा गरिनेछ। ट्रम्पको योजना अनुसार, प्रत्येक इजरायली बन्धकको अवशेषको सट्टा १५ गाजावासीको शव फिर्ता गरिने व्यवस्था गरिएको छ। युद्धविराम सम्झौताले दुई पक्षबीच केही राहत ल्याएको छ, तर शान्ति प्रक्रिया कति समय टिकाउ रहन्छ भन्ने भने अनिश्चित छ।
