मिथिलाञ्चलमा करवाचौथ पर्व धुमधामसाथ मनाइँदै

जनकपुरधाम असोज २४ । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आज हिन्दू नारीहरूको पवित्र पर्व करवाचौथ श्रद्धा, भक्ति र परम्परागत उल्लासका साथ मनाइँदैछ। विशेषगरी विवाहित महिलाहरू मिथिलानीहरू ले आफ्ना पतिको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै यो पर्व मनाउने परम्परा छ।

महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकका अनुसार आज बिहानैदेखि व्रतालु महिलाहरू निर्जल व्रत बसेका छन्। उनीहरूले राति चन्द्रमा उदाएपछि चन्द्रमाको पूजा–दर्शन गरी पतिको पूजा गर्दै व्रत सम्पन्न गर्नेछन्।

चाल्नाबाट चन्द्र दर्शन, पतिको पूजा

जलेश्वर–८ का पण्डित गोविन्द झा भन्छन्, “आजको व्रतमा महिलाहरूले नयाँ वस्त्र, चुरा, पोते, सिन्दुर र विभिन्न गहनामा सजिएर चन्द्रमा र पतिको पूजा गर्छन्। चाल्ना (आँटा छान्ने जालीयुक्त भाँडो) बाट चन्द्रमालाई हेर्ने चलन छ। त्यसपछि त्यही चाल्नाबाट पतिको पनि दर्शन गरिन्छ।” यसरी चन्द्रमा र पतिको पूजाअर्चना गरेपछि व्रतालु महिलाहरू पतिकै हातबाट जल ग्रहण गरी व्रत समापन गर्छन्। पछि पतिलाई प्रसाद र पकवान खुवाएर आफू पनि प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ।

४० वर्षभन्दा माथिकामा बढी प्रभाव

पछिल्लो समय मिथिलाञ्चलमा करवाचौथको धार्मिक र सामाजिक महत्व झन् बढ्दो छ। यस पर्वमा चन्द्रमालाई जीवनदाताको प्रतीक मानी पूजा गरिन्छ भने, पतिलाई पनि चन्द्रमाकै रूप मानिने प्रचलन छ।

मिथिला क्षेत्रमै विशेष उत्साह

करवाचौथ पर्व केवल महोत्तरी मात्र नभई, धनुषा, सर्लाही, सिरहा, रौतहट, बारा, पर्सा, सप्तरी, मोरङ लगायतका जिल्लाहरूमा पनि उत्साहपूर्वक मनाइँदैछ। त्यस्तै, भारतको बिहार राज्य अन्तर्गत मधुवनी, सीतामढी, दरभङ्गा, मुजफ्फरपुर, पटना लगायत मिथिला क्षेत्रमा पनि यो पर्वको विशेष महत्व छ।

प्रतिक्रिया
सम्बन्धित खवर