काठमाडौँ असोज १६ । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीका दिन जेनजी आन्दोलनमा ज्यान गुमाएका तीन जनाका परिवारलाई भेटेर श्रद्धाञ्जली व्यक्त गरेकी छन्।
आज बिहान प्रधानमन्त्री कार्कीले पहिलो चरणमा बागलुङ घर भई हाल काठमाडौंको वनस्थलीमा बस्दै आएका सौरन किशोर श्रेष्ठका परिवारसँग भेट गरिन्। त्यसपछि उनले नागर्जुन–३ की कान्छी नगरकोटी र कीर्तिपुरको मैत्रीनगरस्थित बुद्धिबहादुर तामाङका परिवारलाई पनि भेट्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि प्रधानमन्त्री कार्कीको साथमा सहभागी थिए।
प्रधानमन्त्री कार्कीले यसअघि नै जेनजी आन्दोलनका मृतकहरूको सम्झनामा यो वर्ष विजयादशमीमा टीका नलगाउने घोषणा गरिसकेकी थिइन्। उनले पीडित परिवारको पीडामा सहानुभूति प्रकट गर्दै न्यायप्राप्तिको पक्षमा सरकार दृढ रहेको बताएको स्रोतको भनाइ छ।





