जनकपुरधाम असोज ६ । प्रभु साह नेतृत्वको आम जनता पार्टी आजपा ले प्रदेशस्तरको नेतृत्व फेरबदल गर्दै, ‘व्यवस्था परिवर्तनका लागि जनदबाब अभियान’ चलाउने र चाडपर्वपछि आन्दोलनमार्फत निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ।
काठमाडौँको नेपाल प्रज्ञा भवनमा असोज ४ गते बसेको केन्द्रीय कमिटी बैठक र असोज ५ गतेको पदाधिकारी बैठकका निर्णयहरू सोमबार सार्वजनिक गर्दै आजपा प्रवक्ता चन्द्रभुषण साहले पार्टी अब प्रणालीमा सुधार, प्रणाली परिवर्तन र नयाँ राजनीतिक विकल्पसहित अगाडि बढ्ने जनाएको छ।
प्रदेश नेतृत्व फेरबदल
बैठकले सातै प्रदेशका इन्चार्ज र अध्यक्षहरू फेरबदल गर्दै नयाँ टोली घोषणा गरेको छ। कोशी प्रदेशमा तिलक थापा मगर इन्चार्ज, जुरीलाल मोची सहइन्चार्ज र खगेन्द्र भण्डारी अध्यक्ष बनेका छन्। मधेस प्रदेशमा त्रिभुवन साह इन्चार्ज, श्रीचन मुखिया सहइन्चार्ज र उमेश कुशवाहा अध्यक्ष तोकिएका छन्। यस्तै, सुदूरपश्चिममा सुमिना हुसेन र राम विष्ट, बागमतीमा धनकुमारी मगर र पासाङ तामाङ, गण्डकीमा तिलक थापा मगर र भोजराज त्रिपाठी, लुम्बिनीमा त्रिभुवन साह र विजय यादव तथा कर्णालीमा समिना हुसेन र आशा संजेल जिम्मेवारीमा तोकिएका छन्।
छठपछि आन्दोलन, चुनावमा सहभागिता
प्रवक्ता साहका अनुसार, दशैँ, तिहार र छठ पर्वसम्म संगठन विस्तार र शुभकामना आदान–प्रदान कार्यक्रम गरिनेछ भने छठपछि पार्टी जनदबाबसहितको संघर्षमा उत्रिनेछ। “हामीले केन्द्रीय कमिटी पुनर्गठन गरेका छौँ। अब प्रदेश र जिल्ला कमिटीहरू पुनर्गठन गर्दै, छठपछि आन्दोलनमा जान्छौँ,” साहले भने। उनका अनुसार पार्टीको नारा ‘देशको अवस्था बदल्न व्यवस्था बदलौँ, राष्ट्रिय स्वाधीनता बचाउन सङ्घर्ष गरौँ’ हुनेछ।
१६ बुँदे एजेन्डा सार्वजनिक
आजपाले संविधानमा तत्काल सुधार गर्नुपर्ने १६ प्रमुख बुँदा सार्वजनिक गरेको छ, जसमा प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन प्रणाली प्रमुख मागको रूपमा रहेको छ। आर्थिक, राजनीतिक र सामाजिक प्रणाली सुधारका मुद्दाहरूलाई ‘तेस्रो जनआन्दोलन’को निरन्तरताका रूपमा अघि बढाउने निर्णय बैठकले गरेको छ।
जेनजी आन्दोलनमाथिको दमनप्रति आपत्ति
पार्टीले हालै भएको जेनजी आन्दोलनका क्रममा विद्यार्थीको हत्या, सम्पत्तिमा आगजनी, ऐतिहासिक धरोहरमा तोडफोड भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ। आजपाले ती घटनाका जिम्मेवार सुरक्षा निकाय, पूर्वसरकार र संलग्नहरूलाई तथ्य–प्रमाणको आधारमा दण्डित गर्न माग गरेको छ।
राजनीतिक एकताका लागि वार्ता समिति गठन
विचार र सिद्धान्त मिल्ने व्यक्ति तथा संगठनहरूसँग एकता गर्न आजपाले सहअध्यक्ष तिलक थापा मगरको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ। समितिमा चन्द्रभुषण साह, सुभाष साह, विजय यादव र राम विष्ट सदस्य रहेका छन्।
