अन्तरिम सरकार असफल बनाउने षड्यन्त्र सुरू भइसकेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ असोज २ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताविरुद्धको षड्यन्त्र अझै नसकिएको बताएका छन्। संविधान दिवसको पूर्वसन्ध्यामा बिहीबार सार्वजनिक भिडियो सन्देशमार्फत बोल्दै उनले अन्तरिम सरकारलाई असफल बनाउने प्रयास भइरहेको र चुनाव हुन नदिने योजनाबद्ध चाल सुरू भएको बताए।

‘अन्तरिम सरकारलाई असफल बनाउने, मुलुकलाई थप अस्थिरतातिर लैजाने प्रयास सुरू भइसकेको छ,’ उनले भने, ‘हामी चाहन्छौं, घोषित निर्वाचन समयमै होस्।’ अध्यक्ष प्रचण्डले वर्तमान परिस्थिति देशभक्त र लोकतन्त्रवादी शक्तिका लागि चुनौतीपूर्ण रहेको उल्लेख गरे। संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रलाई अगाडि बढाउन सबै परिवर्तनशील शक्तिबीच एकता आवश्यक रहेको उनले जोड दिए।

जेन–जी आन्दोलन र संविधान संशोधनको गुमेको मौका

प्रचण्डले जेन–जी आन्दोलनको जगबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान सकिने अवसर गुमेको बताए। ‘शासकीय स्वरुप नै बदल्ने मौका गुम्यौं, केवल अन्तरिम सरकार र निर्वाचनमा मात्रै आन्दोलनको उपलब्धि सीमित भयो,’ उनले दुख व्यक्त गरे। उनका अनुसार, जेन–जीको प्रमुख माग र १० वर्षअघिको माओवादी फरकमतबीच समानता रहेको छ। ‘त्यतिबेला पनि हामी पूर्ण समानुपातिक प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा थियौं,’ उनले स्मरण गरे।

कांग्रेस–एमालेलाई ‘जनताको आक्रोशसँग नखेल्न’ चेतावनी

पूर्वप्रधानमन्त्रीको हैसियतले प्रचण्डले नेपाली कांग्रेस र एमाले नेतृत्वलाई जनताको भावना र आक्रोशलाई हल्काफुल्का रूपमा नलिन आग्रह गर्दै निरन्तर खबरदारी गरेको बताए। ‘कुशासन, भ्रष्टाचार र शासकीय दम्भविरुद्ध हामी सडकदेखि सदनसम्म लड्यौं,’ उनले भने, ‘जेन–जी आन्दोलनका मागमा पहिलो समर्थन पनि हामीले नै गरेका थियौं।’ अन्त्यमा प्रचण्डले जेन–जी आन्दोलनलाई माओवादी जनयुद्धबाट अधुरा रहेका परिवर्तनका एजेन्डाहरूको निरन्तरता र अभिव्यक्ति भएको दाबी गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ