सुनसरी असोज २ । खोटाङ जिल्लाको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारमाथि सोमबार साँझ जघन्य अपराध भएको छ। सहकारी संस्थामा काम सकेर घर फर्किंदै गरेकी रेस्मिकामाथि सामूहिक बलात्कारपछि निर्मम हत्या गरिएको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार, घटनामा संलग्न एकजना अभियुक्त, छिमेकी दिपक सार्कीलाई पक्राउ गरिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार, ५–६ जनाको समूहले बाटोमै रेस्मिकालाई नियन्त्रणमा लिएर बलात्कार गरेको र त्यसपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका दिपक सार्कीले अन्य संलग्न व्यक्तिहरूको नाम समेत खुलाएका छन्। ती अभियुक्तहरूको खोजीका लागि प्रहरीले थप टोली परिचालन गरेको जनाएको छ।
घटनापछि रेस्मिकाको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। पोस्टमार्टमपछिको अन्त्येष्टि बुधबार इटहरीस्थित बुढिखोलामा गरिएको हो। घटनाबारे बोल्दै जिल्ला प्रहरी प्रमुख डीएसपी जनक बुढाथोकीले, “सम्पूर्ण अभियुक्तलाई चाँडै पक्राउ गरी कानुनी कारबाही गरिनेछ,” भन्ने प्रतिबद्धता जनाए। उनका अनुसार अपराधी पक्राउ नपरेसम्म खोटाङमा विशेष प्रहरी अपरेशन जारी रहनेछ।
