जनकपुरधाम असोज १ । राष्ट्रिय मुक्ति पार्टी नेपालले ‘जेन जी’ आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ। पार्टीका अध्यक्ष राजेन्द्र महतोले जारी गरेको विज्ञप्तिमा युवा पुस्ताले देशको स्वतन्त्रता र ऐतिहासिक क्रान्तिका लागि गरेको बलिदानलाई सम्झिएको उल्लेख गरिएको छ।
महतोले सहिदहरूको त्यागलाई राष्ट्रले कहिल्यै भुल्न नहुने बताए भने यसलाई ऐतिहासिक गौरवको रूपमा स्मरण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले भने, “तपाईंहरूको बलिदानले हामीलाई संघर्षमा अझ मजबुती ल्याएको छ। यो संघर्ष व्यक्तिगत नभई जनताको अधिकार, समानता, स्वाभिमान र भ्रष्टाचार विरुद्धको साझा अभियान हो।”
अध्यक्ष महतोले पार्टीका सबै नेता तथा कार्यकर्तालाई सहिदहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न आह्वान गर्दै संविधान, कानुन र सार्वजनिक स्थानहरूमा श्रद्धाञ्जली सभाहरू गर्न आग्रह गरेका छन्। राष्ट्रिय मुक्ति पार्टीले सहिदहरूले देखाएको बाटोमा अगाडि बढ्दै स्वाधीनताको सपना पूरा गर्ने प्रतिबद्धता पनि दोहोर्याएको छ।
