जनमतका नेता तथा मुख्यमन्त्री सतिश कुमार सिंहले दिए जनतालाई धोका, पदबाट दिएको राजीनामाबाट पछि हटे

जनकपुरधाम भदौ २८ । जनमत पार्टीका नेता तथा मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले केही दिनअघि सामाजिक सञ्जालमार्फत घोषणा गरेको राजीनामाबाट पछि हट्ने संकेत दिएका छन्। उनी हाल पुनः आफू नै मुख्यमन्त्री भएको दाबी गर्दै सक्रिय राजनीतिमा फर्किन वकिल र दलका नेताहरूसँग छलफलमा जुटेका छन्।

गत भदौ २४ गते जेनजी आन्दोलन उत्कर्षमा पुगेको बेला जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको निर्देशनमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। उनले फेसबुकमा पोस्ट गर्दै “नागरिकको ज्यानभन्दा ठूलो केही छैन” भन्दै पदत्यागको घोषणा गरेका थिए। तर उनले औपचारिक रूपमा प्रदेश प्रमुख समक्ष राजीनामा पत्र बुझाएका थिएनन्।

परिस्थिति बदलिएपछि फेरियो निर्णय

देशमा अन्तरिम प्रधानमन्त्रीको रूपमा सुशीला कार्की नियुक्त भएपछि नयाँ राजनीतिक समीकरण बनेका छन्। यति बेला सिंहले आफू पदमा नै रहेको भन्दै पुनः सक्रिय भूमिकामा फर्कने तयारी थालेका छन्। उनका प्रेस सल्लाहकार अवधेश झाले सिंहले तात्कालीन तनाव र हिंसात्मक घटनालाई रोक्न “मनस्थिति नियन्त्रणका लागि” राजीनामा घोषणा गरेको तर त्यो औपचारिक नभएको स्पष्ट गरेका छन्।

कानुनी र राजनीतिक छलफलमा सिंह

स्रोतका अनुसार सिंह पुनः मुख्यमन्त्रीको रूपमा सक्रिय रहने विषयमा वकिल, संवैधानिक विज्ञ तथा विभिन्न दलका नेताहरूसँग निरन्तर परामर्शमा छन्।

अध्यक्ष राउतको कटाक्ष

यता जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले भने आफूले संसद् पद र सबै सरकारी जिम्मेवारी छोडेको जनाउँदै सामाजिक सञ्जालमा व्यङ्ग्यपूर्ण ढंगले लेखेका छन्— “छोडी दिएको छु सांसद पद, सरकारी पद। अब रातारात यी सबै सपना तपाईंले पूरा गरेर देखाउनोस्।” उनको भनाइप्रति राजनीतिक विश्लेषकहरूले मिश्रित प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ