जनकपुरधाम भदौ २४ । सरकारविरुद्ध जारी जेनेरेशन जेड जेनजी पुस्ताको आन्दोलन मंगलबार जनकपुरधाममा झन् उग्र बनेको छ। प्रदर्शनकारीहरूले नेकपा माओवादी केन्द्रको जिल्ला कार्यालयमा तोडफोड र आगजनी गरेका छन्।
प्रदर्शनकारीहरूले कार्यालय परिसरमा प्रवेश गरी फर्निचर, कागजात तथा अन्य सामग्रीमा ठूलो क्षति पुर्याएको जनाइएको छ। आगलागीका कारण भवनको केही भाग जलेको भए पनि हालसम्म कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, र युवाको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी नीतिविरुद्ध जेनजी पुस्ताले सुरु गरेको आन्दोलनले देशव्यापी रूप लिँदै आएको छ। प्रदर्शनकारीहरूले निम्न प्रमुख मागहरू राखेका छन;
सामाजिक सञ्जाल खोल्नुपर्ने,
भ्रष्टाचारमा संलग्न पदाधिकारीहरूलाई कारबाही गर्नुपर्ने,
युवाहरूको आवाज दबाउने सरकारी नीति खारेज गर्नुपर्ने।
सरकारले भने आन्दोलनलाई उत्तेजित र सुनियोजितू भनेर व्याख्या गर्दै देशभर सुरक्षा व्यवस्था कडा बनाएको छ। गृहमन्त्रालयका अनुसार शान्ति सुरक्षा कायम राख्न सबै प्रदेशमा सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको छ।
