बारा भदौ २२ । बाराको जीतपुर सिमरा–१ मा आइतबार बिहान बाघको आक्रमणमा परेर ६० वर्षीय छेवाङ्ग लामाको मृत्यु भएको छ। उनी बिहान करिब ७ बजे च्याउ टिप्न प्रगतिशील सामुदायिक वनतर्फ गएका थिए।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख वेद प्रकाश जोशीका अनुसार, जंगलमा बाघको आक्रमण भएपछि आसपासमा घाँस काट्न गएका स्थानीयले घटनाको जानकारी प्रहरीलाई दिएका थिए। लामाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको छ। यसअघि पनि पछिल्लो दुई महिनामा बाराको अम्लेखगञ्ज क्षेत्रमा नरभक्षी बाघको आक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ। बाघको यस्तो आक्रमणले स्थानीय जनजीवनमा त्रास फैलाएको छ।
पर्सा राष्ट्रिय निकुञ्जले घटनाको गम्भीरता बुझेपछि प्रभावित क्षेत्रमा सुरक्षा बढाउन सिसी क्यामरा जडान गर्ने योजना बनाएको छ। साथै, चितवनबाट प्राविधिक टोली बोलाएर नरभक्षी बाघ नियन्त्रणमा लिन पहल सुरु गरिएको जनाएको छ।
