सिरहा भदौ २० । सिरहाको गोलबजारमा एक विद्यालय बसको ठक्करबाट सात वर्षीय बालकको ज्यान गएको छ। ट्रिनिटी सेकेन्ड्री बोर्डिङ स्कुलको बसबाट ओर्लिने क्रममा बसको पछाडि पांग्राले किच्दा गोलबजार नगरपालिका–२ निवासी मदन साहका छोरा आदर्श कुमार साहको घटनास्थलमै मृत्यु भएको हो। पीडित बालक सोही विद्यालयमा प्ले ग्रुप कक्षामा अध्ययनरत थिए।
विद्यालयमा पढाइ सकिएपछि विद्यार्थीलाई घर पुर्याउन निस्किएको बसबाट ओर्लिने क्रममा सन्तुलन गुमाएर लडेका बालकलाई बसले किचेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। बालक लडेको चाल नपाएका चालकले बस अगाडि बढाएका थिए, जसले बालकको टाउकोमा चक्का लागेर गम्भीर चोट पुगेको थियो। दुर्घटनापछि बालकको शव पोष्टमार्टमका लागि लहान अस्पताल पठाइएको छ भने बस चालक र विद्यालयका प्रिन्सिपल घटनापछि फरार भएका छन्। सिरहा प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ।
घर नजिकै पुगेपछि बसबाट ओर्लिने क्रममा भएको यस दुर्घटनाले पीडित परिवारमा गहिरो शोक परेको छ। आमाबुबा भावविह्वल छन्।
