जनकपुरमा दुई पक्षबीचको विवाद वार्तामार्फत समाधान

जनकपुरधाम भदौ १६ । जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा रुपैठामा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न तनावलाई सामाप्त गर्न सर्वपक्षीय सहमति जुटेको छ। स्थानीय प्रशासन, राजनीतिक दल, धार्मिक अगुवा र जनप्रतिनिधिको सहभागितामा भएको छलफलले सामाजिक सद्भाव पुनः स्थापनाको बाटो खोलेको हो।

धनुषा प्रहरीले जानकारी दिएअनुसार, भदौ १४ र १५ गते घटित झडपमा संलग्नहरूलाई पहिचान गरी कानुनी कारबाही अघि बढाउने सहमति भएको छ। साथै, धार्मिक तथा सामाजिक सहिष्णुता खल्बलिने गतिविधि नगर्ने र त्यस्ता प्रयासहरूलाई निगरानीमा राखी आवश्यक कानुनी प्रक्रिया अपनाउने निर्णय समेत गरिएको छ। सहमति अनुसार, दुवै समुदायले अबदेखि शान्ति र सद्भाव कायम राख्न परस्पर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यससँगै, विगतमा देखिएको तेलिया पोखरीसम्बन्धी विवाद समाधानका लागि पनि सहमति जुटाइएको छ।

शनिबारको घटनामा गणेश पूजाको मूर्ति विसर्जनपछि झण्डा हटाउने प्रयास गर्दा विवाद सुरु भएको थियो। त्यसक्रममा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले ११ सेल अश्रुग्यास प्रहार गरेर अवस्था नियन्त्रणमा लिएको थियो। तर, आइतबार दुवै पक्षका झण्डाहरू हटाउने प्रयास गर्दा पुनः तनाव चुलिएको थियो। अवस्था नियन्त्रणबाहिर गएपछि प्रहरीले ३० राउन्ड हवाई फायर र ३१ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको थियो। झडपमा स्थानीय २९ वर्षीय लक्ष्मण मुखिया दुबै खुट्टामा गोली लागेर घाइते भएका छन् भने ७ जना प्रहरी पनि ढुंगामुढामा परी घाइते भएका छन्। सहमतिको यो प्रयासले जनकपुरमा शान्ति र सौहार्द पुनर्स्थापनाको आशा जगाएको छ। अब कार्यान्वयनमा सच्चा प्रतिबद्धता देखिनु महत्वपूर्ण हुनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ