पर्सा भदौ १५ । गृहमन्त्री रमेश लेखकले वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत हैजा संक्रमितहरूको स्वास्थ्य अवस्था अवलोकन गरेका छन्।
शनिबार साँझ वीरगञ्ज पुगेका मन्त्री लेखकले नारायणी अस्पताल, तराई अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका बिरामीहरूको अवस्थाबारे जानकारी लिए। अवलोकनपछि गृहमन्त्री लेखकले नागरिकको जीवन रक्षा सरकारको प्राथमिकता भएको उल्लेख गर्दै आवश्यक परे नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट चिकित्सक टोलीसहित औषधि र उपकरण तुरुन्त उपलब्ध गराउने प्रतिबद्धता जनाए।
“नागरिकको जीवन जोगाउन कुनै कमी हुन दिन्नौँ,” उनले भने, “केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार माग भए सुरक्षा निकायबाट आवश्यक जनशक्ति र औषधि तुरुन्तै पठाइनेछ।” हैजा संक्रमण नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन गृहमन्त्री लेखकले अस्पताल प्रशासनलाई आवश्यक समन्वय र सहयोगका लागि तयार रहन आग्रह गरेका छन्।
