जनकपुरधाम भदौ १३ । मधेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आर्थिक वर्ष २०७७र०७८ मा झन्डै ६५ लाख रुपैयाँ खर्च गरेर खरिद गरेका ६ वटा सफ्टवेयर अहिलेसम्म कार्यालयको जिन्सीमा नदाखिला गरी गायब पारिएको खुलेको छ।
साफ्टवेयरहरू इनभेन्ट्री म्यानेजमेन्ट, अफिस अटोमेसन, पर्सनल इनफरमेसन, कन्ट्रयाक्ट म्यानेजमेन्ट, प्रोजेक्ट परफरमेन्स र डाटा इन्ट्री रिपोर्टिङ प्रणाली हुन्। ती सफ्टवेयर खरिद भए पनि कहाँ छन् भन्ने प्रष्ट छैन।
तत्कालीन सचिव यमप्रसाद भुषालको एकल निर्णयमा प्रक्रिया र योजना विना सफ्टवेयर खरिद गरिएको स्रोतले जनाएको छ। तीमध्ये केही सफ्टवेयर भ्रष्टाचारमा संलग्न ठहर गरिएका व्यक्ति तथा कम्पनीबाट खरिद गरिएको देखिन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसबारे छानबिन गरिरहेको छ।
