सर्लाही भदौ १३ । सर्लाहीको लालबन्दी नगरपालिका–१४ कामिटारका २० वर्षीय सन्ते ब्लोनलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ। बुधबार बिहान करिब ११ः५५ बजे लालबन्दी नगरपालिका–८ खतिवडा चोकमा चेकजाँचका क्रममा बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा चालक र पछाडि सवार व्यक्ति दुईवटा झोला फालेर खेततर्फ भागेका थिए।
पछ्याउँदा प्रहरीले सन्तेलाई पक्राउ गर्न सफल भए पनि अर्का व्यक्ति फरार हुन सफल भएका छन्। प्रहरीले झोला खोल्दा ५ पोका गाँजा फेला पारेको छ, जसको तौल करिब २५ किलो छ। मोटरसाइकल पनि बरामद गरिएको छ। सर्लाही जिल्ला अदालतले ५ दिनको म्याद थप गरी ब्लोनलाई नियन्त्रणमा राखेको छ भने फरार अभियुक्तको खोजी जारी छ। प्रहरी थप अनुसन्धान गरिरहेको छ।
