जनकपुरधाम भदौ १२ । मधेश प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो बैठक प्रतिपक्षी दलहरूले अवरुद्ध गरेका छन्। आर्थिक वर्ष २०७८ र ७९ को बजेट त्रुटिपूर्ण रहेको र प्रतिपक्षीको बहिस्कारबिच पारित भएकाले विरोध जनाउँदै प्रमुख प्रतिपक्षी जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले अर्थमन्त्री सुनिलकुमार यादवको राजीनामा नआएसम्म सदन सञ्चालन नहुने स्पष्ट पारेका छन्।
४६१ पृष्ठको बजेटमा पछि थप २९४ पृष्ठ थपिएपछि पनि प्रतिपक्षीको बहिस्कारमा बजेट पास हुनु संसदीय मर्यादाविरुद्ध रहेको उनको दाबी छ। उनले भने, संसदलाई छल्दै विना प्रतिपक्षी बजेट पास भयो, यस्तो परम्परा विश्वमै छैन। यसपछि सभामुख रामचन्द्र मण्डलले बैठकलाई भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गर्ने घोषणा गरेका छन्।
प्रतिपक्षी दलहरू जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र राप्रपा एकसाथ सदन अवरुद्धमा उत्रिएका थिए। यसअघि आज बिहान सभामुखद्वारा आह्वान गरिएको सर्वदलीय बैठक पनि यी दलहरूले बहिष्कार गरेका थिए। बैठकको कार्यसूचीमा शुभकामना मन्तव्य, महालेखापरीक्षकको छैटौँ र सातौँ वार्षिक प्रतिवेदन पेस गर्ने र विषयगत समितिका वार्षिक प्रतिवेदनहरू प्रस्तुत गर्ने विषयहरू रहेका थिए।
