काठमाडैँ भदौ १० । सरकारले प्रतिक्विन्टल उखुमा दिँदै आएको अनुदान घटाउने निर्णय फिर्ता लिन माग गर्दै उखु किसानहरूले आज तेस्रो दिन पनि माइतीघर मण्डलामा विरोध प्रदर्शन जारी राखेका छन्।
उखु उत्पादक महासंघको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका किसानहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनुपर्ने माग दोहोर्याएका छन्। सरकारले बजेट अभावको कारण देखाउँदै अनुदान रकम घटाएर ३५ रुपैयाँमा झारेपछि उनीहरू आन्दोलित भएका हुन्। सोमबारको प्रदर्शनमा किसानहरू उखुका बोटै बोकेर सडकमा उत्रिएका थिए। उनीहरूले अनुदान कटौतीको निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्।
सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीबाट आएका किसानहरू आन्दोलनमा सहभागी छन्। उनीहरू सरकारी वाचा कार्यान्वयन नहुनु र किसानमाथिको अन्यायको अन्त्य हुनुपर्ने माग गर्दै माइतीघरमा दबाबमूलक प्रदर्शन गरिरहेका छन्।
