गाजा भदौै ९ । दक्षिणी गाजास्थित नासेर अस्पतालमा सोमबार भएको इजरायली क्षेप्यास्त्र हमलामा तीन पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हमला अस्पतालको चौथो तलामा केन्द्रित थियो। मारिने पत्रकारहरू अन्तर्राष्ट्रिय सञ्चार संस्था अल जजिरा र रोयटर्समा कार्यरत थिए। स्वास्थ्य मन्त्रालयले उक्त हमला ‘डबल ट्याप’ शैलीको भएको उल्लेख गरेको छ, जसमा पहिलो विस्फोटपछि केही मिनेटमै दोस्रो क्षेप्यास्त्र प्रहार गरिन्छ। यस्तो शैलीले उद्धार कार्य थप जोखिमपूर्ण र जटिल बनाउने विज्ञहरू बताउँछन्।
हालसम्म इजरायली सेनाले उक्त हमलाबारे कुनै प्रतिक्रिया दिएको छैन। यद्यपि, इजरायलले विगतमा अस्पतालहरूमा गरिएका आक्रमणहरूलाई जायज ठहर्याउँदै आएको छ, दाबी गर्दै कि हमास लडाकुहरू त्यस्ता स्थानहरूबाट ‘कमान्ड र कन्ट्रोल सेन्टर’ सञ्चालन गर्छन्। पत्रकार सुरक्षासम्बन्धी संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स CPJ का अनुसार, इजरायल–हमास द्वन्द्व सुरु भएयता हालसम्म १९२ पत्रकारले ज्यान गुमाइसकेका छन्। केही मिडिया रिपोर्टहरूमा यो संख्या २०० नाघेको दाबी गरिएको छ। यसको तुलनामा, रूस–युक्रेन युद्धमा अहिलेसम्म १८ पत्रकारको मात्र मृत्यु भएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, हालसम्म यो युद्धमा ६२,६८६ प्यालेस्टिनीको मृत्यु भइसकेको छ। मृतकमध्ये करिब आधा महिला र बालबालिका रहेको अनुमान गरिएको छ।
