पर्सा भदौ ९ । पर्सा जिल्लामा झाडापखाला र हैजाको संक्रमण फैलिन थालेपछि जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले आपतकालीन निर्णयहरू लिएको छ। आइतबार बसेको समितिको बैठकले स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको हो।
संक्रमण प्रभावित क्षेत्रहरूमा थप स्वास्थ्यकर्मी खटाउने, जनचेतना अभियान सञ्चालन गर्ने र औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति सुनिश्चित गर्ने निर्णय गरिएको छ।
मधेस प्रदेशका स्वास्थ्य मन्त्री सत्रुधन प्रसाद सिंहको उपस्थितिमा सम्पन्न बैठकले संघीय र प्रदेश सरकारका स्रोत तथा जनशक्ति समन्वय गरी महामारी नियन्त्रणको योजना बनाउने निर्णयसमेत गरेको छ। साथै, फैलिएको संक्रमणको स्रोत पहिचान गर्न ‘सोर्स अफ इन्फेक्सन आइडेन्टिफिकेसन’ प्रक्रिया अघि बढाइनेछ। यसका लागि आवश्यक प्राविधिक अनुसन्धान सम्बन्धित स्थानीय तहले गर्नेछ भने संघीय र प्रदेश सरकारको प्राविधिक सहयोग रहनेछ।
सरकारले संक्रमण फैलिन नदिन सम्पूर्ण संयन्त्र परिचालनमा ल्याउने जनाएको छ।
