जनकपुरधाम भदौ ८ । रोगमुक्त शरीर, तनावमुक्त मन र हिंसामुक्त समाज निर्माणको लक्ष्यसहित जनकपुरधाममा चार दिने ‘ह्यापिनेस कोर्स’ सफलतापूर्वक सम्पन्न भएको छ।
आर्ट अफ लिभिङ, जनकपुरधामको आयोजनामा भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको प्रशिक्षणमा सहभागीहरूलाई ध्यान, योग, प्राणायाम तथा सुदर्शन क्रियाजस्ता अभ्यासहरू प्रदान गरिएको थियो। तालिम आर्ट अफ लिभिङका अन्तर्राष्ट्रिय प्रशिक्षक चन्देश्वर भाइया, मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता समेत रहेका प्रशिक्षक सुरेन्द्रकुमार महतो, र प्रशिक्षक सुधीर ठाकुरले सञ्चालन गरेका थिए।
विभिन्न पेशा र क्षेत्रबाट आएका ४५ जना सहभागीलाई शारीरिक र मानसिक सन्तुलनका लागि योग, ध्यान र सेवाभावमूलक अभ्यासहरू गराइएको कार्यक्रमका स्वयंसेवक ओमकुमार साहले जानकारी दिए। कार्यक्रमको समापन सत्रमा प्रादेशिक अस्पताल, गौरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुरारी ठाकुरले मधेशमा साक्षरता दर कम र समाज तुलनात्मक रूपमा कम विकसित रहेकाले नैतिक मूल्यमा आधारित समाज निर्माण अपरिहार्य भएको बताए।
उनले आर्ट अफ लिभिङका संस्थापक रविशंकरको दर्शन उद्धृत गर्दै, “ध्यान, योग र प्राणायाममार्फत प्रत्येक व्यक्तिको जीवनलाई स्वस्थ, सन्तुलित र आनन्दमय बनाउन सकिन्छ। यस्तो अभ्यासले समाजमा शान्ति, प्रेम र अहिंसा स्थापित गर्न मद्दत गर्छ,” भने।





