प्रधानमन्त्री ओलीले कुशे औँसी पर्वको अवसरमा शुभकामना दिए

काठमाडौँ भदौ ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी को अवसरमा सबैलाई हार्दिक शुभकामना दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले जिवित पिताहरूलाई नमन र दिवंगत पितृहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै बुबाको मुख हेर्ने परम्परागत दिवसको महत्व औंल्याएका छन्।

प्रधानमन्त्री ओलीले आज बिहानै आफ्ना ९६ वर्षीय बुबाबाट आशीर्वाद लिएको जानकारी पनि दिएका छन्। उनले लेखेका छन्, “बुबा अलि कान कम सुन्नुहुन्छ तर पुस्तक पढ्न अझै चस्मा लगाउन पर्दैन, नजिकसम्मका काम आफैँ गर्न सक्नुहुन्छ।” ओलीले थपे, “उतिबेलाका केही कुरा बुबासँग गरें। उहाँको स्वास्थ्य राम्रो छ र दीर्घायुको कामना गर्छु।”

प्रधानमन्त्री ओलीले आफ्नो आमाको निधन चार वर्षको उमेरमै भएको उल्लेख गर्दै, “आमाको अनुहार धुंधलो मात्र सम्झना मेरो मनमा बाँकी छ,” भनेका छन्। उनले बुबाको मुख हेर्ने दिन पितृ सम्मानको प्रतीक रहेको बताउँदै, “बुबाआमालाई केवल एक दिनमा होइन, सधैं आदर र सम्मान दिनुपर्छ। तर, टाढाबाट आएका छोराछोरी यस दिन बाबुलाई भेट्न आउँछन्, त्यसैले यो दिन विशेष हुन्छ,” भन्दै परम्पराको महत्त्व स्पष्ट पारेका छन्। कुशे औँसीका दिन छोराछोरीहरूले बाबुलाई मन पर्ने मिठाई र भोजन खुवाएर सम्मान गर्छन् र बाबुको मुख हेर्ने परम्परा पूरा गर्दछन्। प्रधानमन्त्री ओलीको सन्देशले पितृ सम्मानको सांस्कृतिक महत्त्वलाई पुनः उजागर गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ