काठमाडौँ भदौ ७ । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेकी छिन्।
उनी उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएकी हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे तथा अन्य उच्चपदस्थ अधिकारीहरूले स्वागत गरेका थिए।
नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वर्षगाँठको पृष्ठभूमिमा भएको यो भ्रमणलाई विशेष कूटनीतिक महत्वका साथ हेरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भियतनामको तर्फबाट यो नेपालमा पहिलो उच्चस्तरीय भ्रमण हो। भदौ ८ गते उपराष्ट्रपति सुआन र उनका नेपाली समकक्षी यादवबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ। साथै, सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटवार्ता पनि गर्नेछिन्।
उपराष्ट्रपति सुआनले आफ्नो भ्रमण भदौ ९ गते सम्पन्न गरी स्वदेश फर्कने कार्यक्रम रहेको छ।
