काठमाडौँ भदौ ७ । नेकपा माओवादी केन्द्र ले २०६३ सालको गौर हत्याकाण्डलाई राजनीतिक आवरणमा ढाकछोप गर्न नमिल्ने स्पष्ट पारेको छ। पार्टीका महासचिव देव गुरुङले घटनाको प्रकृति राजनीतिक देखिए पनि घेराबन्दी गरी सामूहिक हत्या गर्नु कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्।
उनले जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दै गौर घटनाबारे स्वतन्त्र र निष्पक्ष न्यायिक छानबिनको आवश्यकता औंल्याए। यादवले केही दिनअघि उक्त हत्याकाण्डलाई राजनीतिक घटनाू भनेकोमा गुरुङले कडा आपत्ति जनाएका छन्। गुरुङका अनुसार सो समयमा मधेसी जनअधिकार फोरमको नेतृत्व उपेन्द्र यादवले गरिरहेका थिए र मानव अधिकार आयोगको प्रतिवेदनले पनि यादवलाई लक्षित गरेको थियो।
उनले हाल सर्वोच्च अदालतबाट गौर घटनामा छानबिनका लागि आएको परमादेशबारे पनि टिप्पणी गर्दै भने, समय सन्दर्भ हेर्दा राजनीतिक प्रेरणा वा प्रतिशोधको आशङ्का गर्नसकिने ठाउँहरू प्रशस्त छन्। यसबाहेक, जसपाले भूमि विधेयकप्रति असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिएको सन्दर्भ पनि उनले जोड्दै, त्यसपछि अदालतबाट आएको फैसला संयोग मात्र नभई राजनीतिक प्रभाव वा उद्देश्यको संकेत हुनसक्ने धारणा व्यक्त गरे।
यद्यपि, माओवादी केन्द्रले अदालतको निर्णयलाई स्वीकार गर्ने स्पष्ट गर्दै, महासचिव गुरुङले भने, न्यायिक निकायले निष्पक्ष, स्वतन्त्र ढङ्गले कार्य गर्नुपर्छ। कतिपय मुद्दाहरूमा अदालतले नीतिगत ध्यान नदिएको देखिन्छ, उनले उल्लेख गरे।
