कोशी प्रदेशको सञ्चार विधेयकविरुद्ध पत्रकार आन्दोलित, संसद् भवनमा धर्ना

विराटनगर भदौ ६ । कोशी प्रदेश सरकारले संसद्मा पेश गरेको कोशी प्रदेश आमसञ्चारसम्बन्धी विधेयकूको विरोधमा पत्रकारहरूले शुक्रबार संसद् भवन परिसरमै विरोध प्रदर्शन गरेका छन्।

प्रेस स्वतन्त्रता विरोधी धाराहरू रहेको भन्दै विरोधमा उत्रिएका पत्रकारहरूले निषेधित क्षेत्र मानिने प्रदेशसभा भवनको सभामुख प्रवेशद्वार छेउमै धर्ना दिएका थिए। सो क्रममा प्रहरीसँग केहीबेर घम्साघम्सी र धकेलाधकेल समेत भएको थियो।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश, संसदीय पत्रकार मञ्च, प्रेस सेन्टर, प्रेस युनियन, समाजवादी प्रेस संगठन, र फोनिज मोरङलगायत सञ्चार संस्था तथा संघ–संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको धर्नामा विधेयक फिर्ता लिनुपर्ने माग गरिएको थियो। संसदीय पत्रकार मञ्चले संसद् भवन भित्रै धर्ना सुरु गरे पनि प्रहरीको हस्तक्षेपपछि उनीहरूलाई बाहिर निकालिएको थियो। त्यसपछि संसद्को मुख्य गेट अगाडि संयुक्त शान्तिपूर्ण धर्ना गरिएको हो।

विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधानसहितका धाराहरू समावेश गरिएको छ, जसले प्रेस स्वतन्त्रतामाथि सीधा हस्तक्षेप हुने भन्दै पत्रकारहरू आन्दोलित भएका हुन्। विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भई संसद्मा पेश भइसकेको छ। विरोधमा उत्रिएका पत्रकार नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयक तत्काल फिर्ता लिन वा प्रेस स्वतन्त्रता सुनिश्चित हुने गरी संशोधन गर्न माग गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ