कोलम्बिया भदौ ६ । कोलम्बियाको क्याली सहरमा भएको शक्तिशाली कार बम विस्फोटमा कम्तिमा पाँच जनाको ज्यान गएको छ भने ३६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार यो आक्रमण मार्को फिडेल सुआरेज मिलिटरी एभिएसन स्कुललाई लक्षित गरेर गरिएको थियो। विस्फोट यति शक्तिशाली थियो कि वरपरका दर्जनौं भवनमा क्षति पुगेको बताइएको छ। क्यालीका मेयर अलेजान्ड्रो एडरले आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। उनले घटनामा संलग्नलाई पक्राउ गर्न सहयोग पुर्याउनेलाई ४० करोड डलर बराबरको पुरस्कार दिने घोषणा समेत गरेका छन्।
सुरक्षालाई उच्च प्राथमिकता दिँदै, स्थानीय प्रशासनले सहरका धेरै विद्यालय तथा भवन खाली गराउन आदेश दिएको छ भने ठूला ट्रकहरूको आवतजावतमा पनि प्रतिबन्ध लगाइएको छ। यो घटना भएको केही घण्टाअघि मात्र, कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा पर्ने मेडेलिन नजिकै एक प्रहरी हेलिकप्टरमा आक्रमण भएको थियो जसमा १२ जनाको मृत्यु भएको थियो। लगातारका आक्रमणहरूले कोलम्बियाको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्।
सरकारले घटनाका दोषीहरू पहिचान गर्न गम्भीर अनुसन्धान सुरु गरेको छ।
