सर्लाही भदौ ५ । सर्लाहीको हरिपुर्वा नगरपालिका–५ बाट करिब २० किलो ३४० ग्राम लागुऔषध गाँजासहित एक दम्पती पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा बिहीबार साँझ करिब ४ बजे रूपेश साहको पक्की घरमा संयुक्त प्रहरी टोलीले खानतलासी गर्दा घरको छतमा लुकाइ राखिएको गाँजा फेला परेको हो। पक्राउ परेका घरधनी ४५ वर्षीय रुपेश साह र उनकी ३५ वर्षीया श्रीमती प्रतिमा कुमारी साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
खानतलासीमा प्रहरी चौकी हरिपुर्वा, जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय केशरगञ्जबाट खटिएको ३ वटा टोली संलग्न थिए। सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईका अनुसार उनीहरूलाई थप अनुसन्धानसहित आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ।
