पर्सा भदौ ४ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साले पर्साको विभिन्न स्थानबाट रु २२ लाख ४१ हजार २४० मूल्यबराबर भन्सार छली गरेर भित्र्याइएका सामानहरू बरामद गरेको छ।
सूचना अधिकारी कृष्णसिंह पुजाराका अनुसार, सोमबार रु ११ लाख ८३ हजार बराबरको सवारीसाधन इन्जिनका स्पेयर पार्टहरू नियन्त्रणमा लिइएको छ। त्यस्तै, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले गोपालजी साहको घरमा कपडा भण्डारण गरिएको सूचना पाएर कपडा बरामद गरेको छ। साथै, वीरगन्ज महानगर–१७ मा रहेको शङ्करप्रसाद रौनियरको घरबाट किराना सामान रु ३ लाख ६० हजार ६३० मूल्यबराबर बरामद भएको छ।
मङ्गलबार प्रदेश ००१ह १२२४ नम्बरको ई–रिक्सा लोड गरी नगवातर्फ लैजाँदै गर्दा ६१५ लिटर घरेलु मदिरा र रु २ लाख ५० हजार मूल्यको ई–रिक्सा समेत प्रहरीले बरामद गरेको छ। त्यसैगरी, प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट वीरगन्ज महानगर–१७ मा भन्सार छली गरी भारतबाट ल्याइएको रु ४ लाख २९ हजार ५०० मूल्य बराबरको मोबाइल पार्टस नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ। सशस्त्र प्रहरीको यस कार्यलाई सीमा सुरक्षा र अवैध कारोबार नियन्त्रणमा ठूलो सफलता मानिएको छ।
