रुपन्देही भदौ ३ । नागरिक उन्मुक्ति पार्टी नाउपा आन्तरिक विवादका कारण निर्वाचन आयोगमा दल दर्ता हुन नसकेपछि पार्टी संरक्षक रेशम चौधरी स्वतन्त्र उम्मेदवारको रूपमा रूपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवारी दिन लागेका छन्।
आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि नाउपाले समयमै आवश्यक कागजात पेस गर्न नसकेको र पार्टीको वैधानिक नेतृत्वबारे अन्योल कायमै रहेकाले आयोगले दर्ता अस्वीकार गरेको हो। रेशम पक्षले दल दर्ताको प्रयास गरे पनि आयोगले राष्ट्रिय भेला अवैध ठहर गर्दै अध्यक्षमा लालवीर चौधरीलाई मान्यता दिएन। उता, अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष पनि आयोगको मापदण्डअनुसार आवश्यक दस्तावेज जुटाउन असफल भयो।
यस परिस्थितिमा रेशम चौधरीले जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनप्रगतिशील, राष्ट्रिय मुक्ति पार्टी लगायत संघीय लोकतान्त्रिक मोर्चाका घटकहरूको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन्। जनमत पार्टीले भने अलग उम्मेदवार उठाउने बताएको छ। संघीय लोकतान्त्रिक मोर्चा अहिले साझा उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारीमा छ। मोर्चाभित्र बहुमत घटकहरू रेशम चौधरीका उम्मेदवारलाई समर्थन गर्न सहमत देखिन्छन्।
रूपन्देही–३ मा प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि रिक्त भएको सिटमा असोज २१ गते उम्मेदवारी दर्ता हुनेछ। प्रमुख दलहरू उम्मेदवार छनोटमा जुटिरहेका छन् भने निर्वाचन आयोगमा २५ भन्दा बढी दलले सहभागिता जनाइसकेका छन्।
