जनकपुरधाम भदौ ३ । यस वर्ष मधेश प्रदेशमा ८६ प्रतिशत मात्र धान रोपाइँ भएको छ, जुन देशका अन्य सबै प्रदेशभन्दा सबैभन्दा कम हो। कृषि विभागको तथ्यांक अनुसार हालसम्म देशभर कुल ९४ दशमलव १५ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ।
गत वर्षको सोही अवधिसँग तुलना गर्दा यस वर्षको धान रोपाइँ ९८ दशमलव ४४ प्रतिशतबाट घटेर कम भएको देखिन्छ। सबैभन्दा बढी धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा ९९ दशमलव ७२ प्रतिशत र कर्णालीमा ९९ दशमलव ३४ प्रतिशत भएको छ।त्यस्तै, लुम्बिनी प्रदेशमा ९८ दशमलव ०७ प्रतिशत, बागमती प्रदेशमा ९७ दशमलव २७ प्रतिशत, गण्डकीमा ९४ दशमलव ८३ प्रतिशत र कोशी प्रदेशमा ९४ दशमलव ४२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ।
मुलुकभर करिब १३ लाख हेक्टर जमिनमा रोपाइँ सम्पन्न भईसकेको छ भने कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार नेपालमा कुल खेतीयोग्य जमिन करिब १४ लाख हेक्टर रहेको छ।मधेश प्रदेशमा कम धान रोपाइँको कारणबारे थप अध्ययन र समाधान आवश्यक रहेको कृषक तथा विज्ञहरूले बताएका छन्।
