पसाृ भदौ ३ । पर्सा प्रहरीले सामाजिक सञ्जाल टिकटकबाट चिनजान गरी बिहे गर्ने प्रलोभनमा भारतसम्म लगिएको १५ वर्षीय किशोरीलाई १८ दिनको खोजीपछि सकुशल उद्धार गरेको छ।
पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रको निर्देशनमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्स्पेक्टर प्रकाश थापाको नेतृत्वमा खोजतलास गरिएको थियो। गत साउन १२ गते कटहरिया–४ निवासी किशोरीलाई २२ वर्षका युवकले मोटरसाइकलमा लगेर भारत पुर्याएको परिवारले जनाएको छ। किशोरीको खोजीमा अभिभावकले टिकटकमा राखिएका फोटो र सीसीटीभी फुटेजको सहायताले पर्सा–पटेर्वा सुगौली गाउँपालिका–७, रघुनाथपुरसम्म पुगेको थाहा पाए। तर उनको अवस्था सार्वजनिक भएसँगै युवकको परिवारले उनलाई भारतको बिहारस्थित रामनगरमा लुकाएको जानकारी प्राप्त भयो।
उद्धारपछि किशोरीलाई स्थानीय सञ्चारकर्मी प्रमोद कुमार यादव र रातोपाटीका सञ्जय मिश्राको रोहबरमा अभिभावकको जिम्मा लगाइएको छ। इन्स्पेक्टर थापाले भने, “किशोरीलाई अभिभावकको जिम्मा दिइएको छ, तर किशोरीलाई भगाउने युवक र उनको परिवारविरुद्ध थप अनुसन्धान भइरहेको छ।”
