जनकपुरधाम भदौ १ । जनकपुरमा पत्रकारमाथि वकिलहरूले गरेको आक्रमणको विरोधमा पत्रकारहरू आन्दोलित भएका छन्। आक्रमणकारी वकिलहरूमाथि कडा कानुनी कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरू जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका हुन्।
“प्रेस स्वतन्त्रताको रक्षा गर,” “पत्रकारलाई सुरक्षा देऊ,” “आक्रमणकारीलाई कारबाही गर” भन्ने नारासहितको प्लेकार्ड बोकेर शनिबार बिहान ११ बजेदेखि पत्रकारहरू मुख्य गेटमै धर्नामा बसेका छन्।
गत साउन २७ गते गुठी संस्थानबाट कानुनी प्रक्रिया पूरा गरेर लिइएको जग्गा संरक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरका केही पदाधिकारीसहितका वकिलहरूले पत्रकारहरूलाई शारीरिक रूपमै आक्रमण गरेका थिए। उक्त घटनामा महासंघका प्रदेश अध्यक्ष मनोज बञ्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए। साउन २८ गते पाँच जना वकिलविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइए पनि अहिलेसम्म उनीहरू पक्राउ परेका छैनन्।
घटनापछि पत्रकार महासंघ धनुषा शाखाले आपतकालीन बैठक गरी प्रहरी प्रशासनको उदासिनताप्रति आपत्ति जनाउँदै चरणबद्ध आन्दोलन थाल्ने निर्णय गरेको हो।
