ठेकेदार र कामदार सेफ्टी ट्याङ्कीमा फँसेर मृत भेटिए

सुनसरी साउन २८ । सुनसरीको दुहबी नगरपालिका–४ स्थित एक निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र दुई जना मृत अवस्थामा फेला परेका छन्।

मृतकहरूमा दुहबी–२ का ५० वर्षीय ठेकेदार श्यामबहादुर तामाङ र ३२ वर्षीय कामदार रमेश राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार तामाङले घर निर्माणको पेटी ठेक्का लिएका थिए भने राई सोही निर्माणस्थलमा कामदारका रूपमा कार्यरत थिए।

घटना आज बिहान करिब १० बजे दुहबी–४, शिव मन्दिर चोकस्थित चन्द्रिका रौनियारको निर्माणाधीन घरमा भएको हो। स्थानीयहरूले ट्याङ्कीभित्र दुई जनालाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय दुहबीबाट तत्काल प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

घटनाको गम्भीरताका कारण थप अनुसन्धान तथा फरेन्सिक परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विज्ञ टोली बोलाइएको छ। मृत्युको कारण हालसम्म पुष्टि हुन सकेको छैन भने अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ