काठमाडौँ साउन २८ । नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा पुनः रन्जिता श्रेष्ठ नै कायम हुने निश्चित भएको छ। निर्वाचन आयोगले अध्यक्ष पदका लागि लालवीर चौधरी समूहको दाबीलाई अस्वीकृत गर्दै श्रेष्ठलाई नै वैधानिक अध्यक्ष ठहर गरेको हो।
चौधरी नेतृत्वको समूहले केही समयअघि पार्टीको राष्ट्रिय भेला बोलाई श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको घोषणा गर्दै आफू अध्यक्ष भएको दाबीसहित आयोगमा निवेदन दिएको थियो। तर आयोगले सो भेला वैधानिक नभएको भन्दै उक्त दाबी खारेज गरिदिएको छ।
आयोगले निर्णयअघि दुवै पक्ष — लालवीर चौधरी र रन्जिता श्रेष्ठ — लाई छुट्टाछुट्टै पत्र पठाएर स्पष्टिकरण मागेको थियो। सो क्रममा प्राप्त लिखित जवाफ, पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनको अध्ययनपछि आयोगले श्रेष्ठ पक्षलाई मान्यता दिएको हो।यस निर्णयसँगै नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा देखिएको विवाद टुंगिएको छ भने रन्जिता श्रेष्ठको अध्यक्षता यथावत् रहनेछ।
