काठमाडौँ साउन २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै युवाहरूलाई न केवल भविष्यको नेतृत्वकर्ता, तर वर्तमान राष्ट्रनिर्माणका पनि शक्ति भनेका छन्। उनले युवाहरूको ऊर्जाशीलता, सृजनशीलता, वैज्ञानिक सोच र परिवर्तनको आकांक्षा नै समृद्ध र समाजवादी नेपाल निर्माणको आधार भएको उल्लेख गरेका छन्।
शुभकामना सन्देशमा प्रचण्डले भनेका छन्,
गरिबी, असमानता, जलवायु परिवर्तन र विश्वव्यापी चुनौतीहरू सामना गर्दै दिगो विकास लक्ष्य प्राप्तिका लागि युवाहरूको पहलकदमी अनिवार्य छ। नेपाली युवाहरूले सामाजिक न्यायसहितको समृद्ध नेपालका लागि आफ्नो भूमिका निर्वाह गर्ने विश्वास लिएको छु।
प्रचण्डले आफ्ना युवावस्थाका अनुभवहरू पनि सुनाउँदै भने,
मैले युवा सङ्घको अध्यक्ष हुँदै पार्टीको नेतृत्व गर्ने अवसर पाएको थिएँ। जनयुद्धले मात्र राजनीतिक व्यवस्था परिवर्तन गरेन, उत्पीडित समुदायका अधिकार सुनिश्चित गर्ने ऐतिहासिक उपलब्धि पनि दिलायो।
उनले माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन महत्वपूर्ण पहल गरेको स्मरण गराउँदै भने,
युवा स्वरोजगार कोष मार्फत हजारौं युवालाई कृषि, उत्पादन र सेवा क्षेत्रमा रोजगारीको अवसर प्रदान गरियो। राष्ट्रिय युवा परिषद् गठन गरी युवाको हक, अधिकार र सहभागितालाई नीति र संस्थागत रूपमा सुनिश्चित गरियो। युवा उद्यमशीलता कार्यक्रमले नयाँ पुस्तालाई व्यवसायमा प्रोत्साहन दियो र स्टार्टअप अभियानले नवप्रवर्तन गर्ने युवालाई आर्थिक सहायता र बजार पहुँच उपलब्ध गरायो।
प्रचण्डले सम्पूर्ण युवाहरूलाई आफ्नो सीप, ऊर्जा र विचारलाई राष्ट्र र जनताको समृद्धिका लागि लगाउन आह्वान पनि गरेका छन्।
