काठमाडौँ साउन २७ । आज नेपालमा पनि अन्तर्राष्ट्रिय युवा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ स् नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास’ भन्ने नारासहित देशभर युवामुखी कार्यक्रमहरू आयोजना गरिएका छन्।
दिवसको अवसरमा सरकारी, गैरसरकारी संस्था, शैक्षिक निकाय तथा युवासम्बन्धी संघसंस्थाहरूले नेतृत्व, उद्यमशीलता, वातावरणीय संरक्षण, हरित सीप र नवप्रवर्तनमा केन्द्रित विभिन्न गोष्ठी, अन्तरक्रिया, प्रदर्शनी तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेका छन्।
अन्तर्राष्ट्रिय युवा दिवस मनाउने परम्परा सन् २००० देखि सुरु भएको हो। यसको प्रारम्भ सन् १९९८ को अगस्ट ८ देखि १२ सम्म पोर्चुगलको लिसबनमा सम्पन्न भएको युवा मामिलाका मन्त्रीहरूको सम्मेलनबाट भएको थियो। सम्मेलनमा १४० देशका प्रतिनिधिहरूले युवाको हितमा ८८ बुँदे घोषणापत्र जारी गरेका थिए। त्यसको सिफारिसअनुसार सन् १९९९ को डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ५४ औँ महासभाले हरेक वर्ष अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।
नेपालमा समेत विगत केही वर्षयता यो दिवसले संस्थागत रूप लिँदै आएको छ। युवाको क्षमता अभिवृद्धि, अवसरमा पहुँच र दिगो विकासमा उनीहरूको सक्रियता सुनिश्चित गर्न दिवस अवसर बनेको छ। विशेषतः जलवायु परिवर्तन, रोजगार सृजना, हरित प्रविधि र नवप्रवर्तनमा युवा सहभागिता अझ आवश्यक रहेको सन्देश दिवसमार्फत फैलाइएको छ।
