जनकपुरधाम साउन २६ । तराईका विभिन्न जिल्लामा जापानी इन्सेफ्लाइटिस JE को संक्रमण तीव्र गतिमा फैलिन थालेपछि जनस्वास्थ्यमा गम्भीर संकट देखिन थालेको छ। हालसम्म ३ जनाको मृत्यु भइसकेको छ भने ३३ जनामा संक्रमण पुष्टि भएको छ।
परिवार कल्याण महाशाखाका अनुसार संक्रमितमध्ये २० महिला र १३ पुरुष छन्। मृतकमध्ये मोरङका १७ वर्षीय, खानीपोखरीका ४९ वर्षीय र नवलपरासीका ७४ वर्षीय पुरुष रहेका छन्। सबैभन्दा बढी संक्रमण मधेस, कोशी र लुम्बिनी प्रदेशमा देखिएको छ। बर्दिया, कावासोती, रत्ननगर, ठोरी, हरिवन, लाहान, भद्रपुर, उल्लाबारी र गौरीगञ्ज क्षेत्रका बासिन्दा संक्रमित छन्।
खोप नलगाएका समुदाय बढी जोखिममा
खोप शाखाका डा. अभियान गौतमका अनुसार संक्रमण मुख्यतः खोप नलगाएका व्यक्तिहरूमा बढी देखिएको छ। तराई क्षेत्र जेईको लागि उच्च जोखिमयुक्त मानिन्छ, उनले भने, धानखेती हुने, सुँगुर वा हाँस पालन हुने स्थानमा यो रोग फैलिने सम्भावना उच्च हुन्छ।
स्वास्थ्य मन्त्रालयले तीन महिना अघि नै प्रमुख अस्पतालहरूलाई क्लिनिकल प्रोटोकल र उपचार निर्देशिका पठाइसकेको जानकारी दिएको छ। डा. गौतमका अनुसार संक्रमितहरूलाई आइसियूमा राखेर निगरानी र उपचार भइरहेको छ।
संक्रमण दर अघिल्ला वर्षभन्दा उच्च
पछिल्ला वर्षहरूको तुलनामा यो वर्ष संक्रमण दर उच्च देखिएको छ।
२०२३ मा १०७ संक्रमितमध्ये ७ जनाको मृत्यु भएको थियो।
२०२२ मा ६६, २०२१ मा २८, २०२० मा २२ संक्रमित रिपोर्ट भएका थिए।
यसपालि ६८६ जनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको छ। मधेसमा १०, कोशीमा ९, लुम्बिनीमा ९, बागमतीमा ४ र गण्डकी प्रदेशमा १ संक्रमित भेटिएका छन्।
JE के हो र कसरी सर्छ ?
जापानीज इन्सेफ्लाइटिस क्यूलेक्स जातको लामखुट्टेबाट सर्ने भाइरल रोग हो। लामखुट्टे संक्रमित सुँगुर वा चरालाई टोकेपछि सोही भाइरस मानिसमा सार्ने गर्दछ।
रोगको लक्षणहरूमा उच्च ज्वरो, टाउको दुख्ने, घाँटी कडा हुनु, भ्रम, मुर्छा, बोल्न गाह्रो हुने, मांसपेशी कमजोर हुने र पक्षाघातसम्म हुन सक्छ।
उपचार छैन, रोकथाम नै मुख्य उपाय
यो रोगको निश्चित उपचार नभएकाले लक्षण अनुसार उपचार गरिन्छ। ज्वरो, टाउको दुखाइ, अचेत अवस्थालाई लक्षित गरी औषधि दिइन्छ। कमजोर प्रतिरक्षा प्रणाली भएका, जस्तै एचआईभी संक्रमित, मधुमेह भएका मानिसहरूमा जोखिम धेरै हुन्छ।
डा। गौतमका अनुसार सन् १९७८ मा नेपालमा पहिलोपटक देखिएको यो रोग २०७३ सालदेखि नियमित खोप कार्यक्रममा समावेश गरिएको हो। हाल १२ महिनासम्म पुगेका बालबालिकालाई यो खोप दिइन्छ।
सावधानीका उपायहरू
विशेषगरी मनसुनको समयमा लामखुट्टेको संख्यामा वृद्धि हुने भएकाले सावधानी अत्यावश्यक हुन्छ। चिकित्सकहरूले सुझाव दिएका सावधानीका उपायहरूस्
लामो बाहुलाको लुगा लगाउने
घर वरिपरि सरसफाइ राख्ने
पानी जम्न नदिने
लामखुट्टे झुल वा धपाउने क्रिम प्रयोग गर्ने
सुँगुर, हाँस वा चराको खोर घरबाट टाढा राख्ने
निष्कर्ष
तराई क्षेत्रका बासिन्दाहरूले हाल जापानी इन्सेफ्लाइटिसको जोखिम उच्च भएको महसुस गर्न थालेका छन्। संक्रमणबाट जोगिन सचेतना, खोप, सरसफाइ र सावधानी सबैभन्दा प्रभावकारी उपाय हुन्। समयमै सतर्कता नअपनाए ज्यानै जाने खतरा रहन्छ।
